जनता टाइम्स

२ भाद्र २०८२, सोमबार १७:५३

मलाई गुट चलाउन र पार्टीबिरुद्ध लाग्न आउँदैन : विद्या भण्डारी


मोरङ, भदौ २ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको संगठित सदस्य र कार्यकर्ता नै रहेको र गुट चलाउने काम नगर्ने प्रष्ट पार्नुभएको छ ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वउपाध्यक्षसमेत रहनुभएकी भण्डारीले ४५ वर्ष एमालेसँगको आबद्धताको स्मरण गर्दै पार्टीको हितका लागि सधैं काम गर्ने प्रतिबद्धता जनाउनु भयो । ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ, एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो,’ भण्डारीले भन्नुभयो ।

उहाँले पार्टीभित्र भूमिका र केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भने जानकारी नभएको बताउनु भयो । आफूलाई औपचारिक जानकारी नभएको उहाँको भनाई छ । ‘पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन । सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि ! कमिटीमा बस्नेहरूलाई थाहा होला,’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

आफू अहिले केन्द्रीय समितिमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको भण्डारीको भनाई थियो । यस्तै उहाँले गुट चलाउने काम आफूबाट नहुने उदघोष पनि गर्नुभयो । गुट चलाएको आरोप लगाएकोबारे प्रश्न गर्दा भण्डारीले भन्नुभयो, ‘मलाई गुट चलाउन र पार्टीबिरुद्ध लाग्न आउँदैन ।’