जनता टाइम्स

२ भाद्र २०८२, सोमबार १८:४५

पुराना दल केही गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजियो : शेरबहादुर देउवा


काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य फैलाइएको आरोप लगाउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तीज पर्वको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्ता भाष्यहरूले समाजलाई दिग्भ्रमित पारेको बताउनुभयो । ‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र अपभाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस भइरहेका छन्,  हामीले यस्ता चुनौतीहरू चिर्दै अझ सबल र क्रियाशील हुनुपर्नेछ’ उहाँले भन्नुभयो ।

सभापति देउवाले पार्टीका सबै शुभेच्छुकलाई क्रियाशील र गतिशील बनाई कांग्रेसभित्र वृहत् एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा बहुमत ल्याएर स्थिर सरकार निर्माण गर्ने लक्ष्य कांग्रेसको रहेको स्पष्ट पार्नुभयो ।

उहाँले २०८४ सालको निर्वाचनमा कांग्रेसको नेतृत्वमा एकल बहुमतको सरकार बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले तीज पर्वले महिलाबिच आपसी सद्भाव, समानता र सहभागितामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्वहरूलाई देशको गर्व र पहिचानको रूपमा सम्मान गर्नुपर्ने बताउनुभयो ।