जनता टाइम्स

३ भाद्र २०८२, मंगलवार ०९:४४

नेपालबाट रुबेला उन्मूलन : डब्ल्यूएचओले दियो ऐतिहासिक सफलताको मान्यता


काठमाडौं, भदौ ३ । बालबालिकाको ज्यानै लिने प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाललाई रुबेला मुक्त देशको रुपमा घोषणा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई आधिकारिक बधाइ पठाएको छ । लामो समयदेखि बालबालिकाको मृत्यु दर घटाउन चुनौती बनेको यो रोग उन्मूलन गर्न नेपालले पछिल्ला वर्षमा खोप कार्यक्रम, स्वास्थ्य सचेतना र रोग–निगरानी प्रणालीलाई मजबुत बनाएर उल्लेख्य प्रगति गरेको थियो । यिनै मापदण्डलाई आधार मानेर डब्ल्यूएचओले नेपालले रुबेला उन्मूलनमा सफल भएको प्रमाणित गरेको हो ।

संगठनका दक्षिण–पूर्वी एशिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य मन्त्री पौडेललाई पठाएको पत्रमा नेपाल र नेपाली जनतालाई यो महत्वपूर्ण सार्वजनिक स्वास्थ्य उपलब्धि भन्दै बधाइ ज्ञापन गरिएको छ ।

यस उपलब्धिपछि मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस कार्यमा योगदान पु¥याउने सम्पूर्ण स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नागरिक समाज तथा विकास साझेदारलाई धन्यवाद व्यक्त गर्नुभएको छ । ‘यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोगबाट सम्भव भएको हो’, उहाँकाे धारणाा छ ।

मन्त्री पौडेलले रुबेला उन्मूलनलाई दिगो बनाउन मन्त्रालय निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणाली सुदृढीकरण र निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उल्लेख गर्नुभयो । ‘यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पु¥याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भन्नुभएकाे छ।

यससँगै नेपाल दक्षिण–पूर्वी एशियाली क्षेत्रमा रुबेला उन्मूलन गर्ने मुलुकहरूमध्ये एक बनेको छ, जसले बालबालिकाको स्वास्थ्य सुरक्षामा ठूलो क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।