जनता टाइम्स

३ भाद्र २०८२, मंगलवार १०:१०

सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले आकस्मिक रूपमा सांसदहरूलाई बोलाए 


काठमाडौं, भदौ ३ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक बैठकमा बोलाएका छन् ।

जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई अहिले बिहान १०ः३० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको छ ।

यसैगरी नेपाली कांग्रेसले पनि सांसदहरूलाई संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको छ । मध्यान्ह १२ बजेभित्र संसदीय दलको कार्यालयमा उपस्थित भइसक्ने गरी कांग्रेस सांसदहरूलाई बोलाइएको बताइएको छ ।

संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन तथा उपसभामुख इन्दिरा राना विरुद्ध महाअभियोग प्रस्तावका लागि हस्ताक्षर गर्नको लागि दुवै दलले सांसदहरूलाई बोलाएको हुनसक्ने अनुमान गरिएको छ ।

उपसभामुख राना मगरले संसद् सचिवालयको लेटरप्याड दुरुपयोग गरी विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोप छ । सो आरोपमा उहाँमाथि छानबिनको माग भइरहेको छ ।

दुवै दलले एकै दिन आकस्मिक बैठक बोलाएपछि मुलुकका प्रमुख सत्ता गठबन्धनका दलहरूले साझा कदम चाल्न लागिएको हो कि भन्ने राजनीतिक अनुमान गरिएको छ । विशेष गरी उपसभामुख राना मगरमाथि महाअभियोग दर्ता गर्ने तयारी, वा संसदमा विचाराधीन विवादित विधेयकप्रति धारणा एकीकृत गर्ने उद्देश्य रहेको अनुमान गरिएको छ ।