काठमाडौँ, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित संविधानले प्रत्याभूत गरेका सबै मौलिक हकको प्रभावकारी कार्यान्वयनमार्फत परिपूर्ण लोकतन्त्र स्थापना गर्ने लक्ष्य सरकारको रहेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र कुनै दान वा उपहार नभई लामो संघर्षको उपज भएको स्मरण गराउनुभयो ।आफूले समेत जेल–नेल सहेर अधिकारका लागि लडेको उल्लेख गर्दै उहाँले संविधानले प्रत्याभूत गरेका मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरूले स्वतन्त्र र अनुशासित समाज चाहेको बताउनुभयो । ‘हामी सबै फराकिलो, स्वतन्त्र र अनुशासित समाज चाहन्छौँ, परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो, जसभित्र सूचनाको हकसहित सबै हक समावेश गरिएको हुन्छ, तर कानुनले गोप्य राखेका वा व्यक्तिको गोपनीयतासँग सम्बन्धित विषयमा अनावश्यक सूचना माग्ने प्रवृत्ति सही होइन, समाज र राज्यमा कतिपय विषय गोप्य नै रहनुपर्ने हुन्छ ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय सूचनाको हकको प्रयोग गर्ने नाममा कतिपयले मतलबै नभएका सूचना समेत माग्ने गरेकोमा ध्यानाकर्षण गराउँदै अनुसन्धानमै रहेका वा गोपनीयतासँग जोडिएका विषयमा सूचना खुलाउन नमिल्ने टिप्पणी गर्नुभयो ।
उहाँले सरकार र राष्ट्रिय सूचना आयोगबिच कुनै अधिकारको खिचातानी नभएको स्पष्ट पार्दै कार्यान्वयन प्रक्रियामा देखिएका समस्या व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै सामाजिक सञ्जाललाई दर्ता र कर प्रणालीअन्तर्गत ल्याई व्यवस्थित गर्नुपर्ने विषयमा सरकार स्पष्ट रहेको बताउनुभयो ।
कार्यक्रममा सूचनाको हकको प्रवर्द्धनमा योगदान पुर्याउने अभियन्ता, उत्कृष्ट सूचना अधिकारी, पत्रकार र कर्मचारीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्