संखुवासभा, भदौ ३। नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीको सदस्य भएर सक्रिय राजनीति गर्न नमिल्ने बताउनुभएकाे ५ ।
एमाले संखुवासभा जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता प्रकरणबारे अन्तरपार्टी निर्देशनमा नै प्रष्ट उल्लेख भएकाले यसबारे धेरै बहस आवश्यक नरहेको बताउनुभयो । ‘राष्ट्रपति पद राष्ट्रिय गौरवको पद हो, त्यस्तो पदमा रहीसकेपछि पुनः पार्टीको सदस्य भएर काम गर्नु उचित हुँदैन, त्यसैले पूर्वराष्ट्रपति जस्ताे भएकाे व्यक्तिले सामाजिक सेवाको क्षेत्रमा सक्रियता जनाउनु नै उचित हुन्छ’, उहाँले भन्नुभयाे ।
गौतमले आसन्न विधान महाधिवेशनलाई सफल बनाउन संखुवासभाका प्रतिनिधिहरूले महत्त्वपूर्ण सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० गतेदेखि गाेदावरीमा हुँदैछ । जसमा संखुवासभाबाट १४ जना प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकमा केन्द्रीय सदस्य तुलसी प्रसाद न्यौपानेले अन्तरपार्टी निर्देशनको महत्त्व र दसौँ राष्ट्रिय महाधिवेशनले दिएको उपलब्धिबारे धारणा राख्नुभयो । त्यस्तै, कोसी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टी सदस्यता नवीकरण र विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला अध्यक्ष खड्गबहादुर राईले १ करोड ७ लाख २७ हजार ५ सय रुपैयाँको आर्थिक प्रतिवेदनसहित वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो । सो कार्ययोजनामा करिब १ करोड लागतमा भवन निर्माण गर्ने योजना समावेश गरिएको छ, जसलाई २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
भवन निर्माणका लागि पार्टी सदस्यहरूबाट सहयोग सङ्कलन अभियान चलाउने र देउसी–भैलो खेलेर समेत स्रोत जुटाउने तयारी रहेको प्रचार विभाग प्रमुख नवीन दाहालले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्