काठमाडौ, भदौ ४ । भारत र चीन एकपटक फेरि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न सहमत भएका छन । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति भएको हो ।
लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्रको नेपालको भूमि हो । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री यीले भाद्र २ र ३ गते गर्नुभएको भारत भ्रमणका क्रममा यो सहमति भएको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन । भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार राति द्विपक्षीय सहमतिका विषयहरूमा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने कुरा उल्लेख छ । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो ।
विदेश मन्त्रालयद्वारा जारी सहमतिको बुँदा नम्बर ९ मा सीमा व्यापार खोल्ने विषय उल्लेख छ । ‘दुईटै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भए,’ बिज्ञप्तिमा भनिएको छ ।
१० वर्षको अन्तरालपछि भारत र चीन एकपटक फेरि नेपालको भूमि लिपुलेक हुँदै व्यापारको कुरा गरेका छन । यसअघि वि.स २०७२ (सन २०१५) म भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द मोदी २०१५ मे १४ मा चीन भ्रमण गएका बेला समकक्षी ली खछ्याङबीच लिपुलेक नाकाबाट द्विदेशीय व्यापार अभिवृद्धि गर्ने सहमति भएको थियो । त्यतिबेला मे १५ मा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर २८ मा उक्त सहमतिको कुरा उल्लेख थियो ।
सो बिज्ञप्तिमा भनिएको थियो– ‘नाथु ला, कियाङला÷लिपुलेक पास शिपकी लामा पासबाट सीमा व्यापार विस्तार गर्न दुवै पक्ष सहमत भए ।’ नेपाललाई जानकारी समेत नदिई नेपालको भूमि हुँदै भारत र चीनले व्यापार विस्तार गर्ने सहमतिप्रति नेपालमा तिब्र बिरोध भएको थियो । भारत र चीनले गरेको त्यस सहमति प्रति नेपाल सरकारले औपचारिक रूपमा विमत्ति जनाएको थियो । त्यस सहमतिप्रति आपत्ति जनाउँदै नेपालले तत्कालै दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो ।
भारत र चीनबीच चिसिएको सम्बन्ध सुधार हुने क्रम बढेसँगै दुवै देश फेरि एक पटक नेपालको भूमि हुँदै व्यापार गर्ने सहमति गरेका हुन । लिपुलेक पास नेपालले जारी गरेको औपचारिक नक्सामा नेपालभित्रको भूभाग हो ।













प्रतिक्रिया दिनुहोस्