जनता टाइम्स

४ भाद्र २०८२, बुधबार १७:३५

सेलेघाट–रामेछाप–साँघुटार सडकमा समस्या : जनप्रतिनिधि र प्रशासनको चासो


रामेछाप, भदौ ४ । रामेछापबाट ओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रीहरूले हैरानी खेप्न लागेपछि रामेछापका जनप्रतिनिधि र स्थानीय प्रशासनले चासो देखाउनुभएको छ ।

पुरानो संरचना भत्काएर लथालिङ्ग पारी छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापको अगुवाइमा आयोजना कार्यालय र निर्माण व्यवसायी समेतलाई लिएर बुधबार स्थलगत अनुगमन गरिएको हो । सो क्रममा तत्काल अन्य काम गर्न नसकेपछि नियमित यातायात साधन सञ्चालन हुने व्यवस्था मिलाउन रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

अनुगमनको क्रममा बाटो ठाउँ–ठाउँमा अति अप्ठेरो भएको कारण स्थानीयले निक्कै हैरानी खेप्नुपरेको प्रजिअ थापाले बताउनुभयो । ‘हामीले तत्कालै पिच गर्नुपर्छ, सबै काम गर्नुपर्छ, भनेका होइनौँ, कम्तीमा यातायात साधन नरोकिउन्’, उहाँले भन्नुभयो ।

ठाउँ–ठाउँमा स्काभेटर लगायतका मेसिनहरू राखेर भए पनि सडक नियमित सञ्चालनको काम गर्न वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले आग्रह गर्नुभयो । ‘बिपी राजमार्गमा जस्तै ठाउँ–ठाउँमा मेसिन राखेर आवागमन सहज बनाइदिनुस्’, उहाँले भन्नुभयो ।

सो सडक बिग्रिँदा दुई घण्टाको बाटोमा दिनभरि लाग्ने रामेछाप नगरपालिका–२ का कुमार रोक्काले गुनासो गर्नुभयो । ‘काठमाडौं जाने बसहरू दिनभरि यही फसेर बस्छन्, बिरामी लैजाने एम्बुलेन्स समेत चल्दैन, ओखलढुङ्गा जाने गाडी साँझसम्म यतै हुन्छन्’, उहाँले भन्नुभयो ।

सडक बिग्रिएको कारण नागरिकले सास्ती बेहोर्नुपरेको स्वीकार गर्दै सडक आयोजनाका प्रमुख ईश्वर कार्कीले अब उपकरणहरू थपेर भए पनि नियमित रूपमा यातायात सञ्चालन गर्ने जानकारी दिनुभयो । निर्माण कम्पनीलाई यस विषयमा प्रतिबद्धता नै गराउन लगाउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटारबजारसम्म पुग्ने करिब ५२ किलोमिटर लामो सो सडक निर्धारित समयमा नबन्दा यात्रीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको रामेछाप नगरपालिका–३ साँघुटारका होतराज ढकालले बताउनुभयो । अहिले सडकमा जथाभाबी खनेर छाडिएका कारण यातायात साधन चिप्लिएर चल्नै नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

यस विषयमा बारम्बार आयोजनालाई भनिए पनि काममा ध्यान नदिएको रामेछापका रोशन पाख्रिनले गुनासो गर्नुभयो ।

यस्तै अवस्था रहने हो भने कहाँ गएर ठुलो दुर्घटना हुने हो भन्न नसकिने अवस्था रहेको साँघुटारकै माधव ढकालले बताउनुभयो ।

भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको सो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको हो । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता गरिएको थियो । तर निर्धारित समयमा काम नभएपछि सोही कम्पनीलाई फेरि १७ महिनाको म्याद थप गरिएको हो ।

सडक बिग्रँदा स्थानीयले हैरानी खेप्नुपरेको स्वीकार गर्दै निर्माण कम्पनी टीसीआईएलका प्रतिनिधि डिसी शर्माले तत्कालका लागि सो समस्या समाधान गर्ने बताउनुभयो । उहाँले निर्धारित समयमा सडकको काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नागरिकलाई समस्या नहुने गरी काम गर्ने र सांसद तथा प्रमुख जिल्ला अधिकारीले दिनुभएको निर्देशन अनुसार आफूले काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

निर्माण कम्पनीका इञ्जिनियर अभिषेक शर्माले पनि छिटो भन्दा छिटो काम सक्ने प्रतिबद्धता जनाउनुभयो । समस्या भएका ठाउँका लागि एउटा मेसिन राखेर काम गरिरहेको बताउँदै ती ठाउँमा ग्राभेल लगायतका काम गरी सहज बनाउने प्रयत्न गर्ने जानकारी उहाँले दिनुभयो ।

सडक अनुगमनका लागि सांसद श्रेष्ठसँगै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, रामेछापकी उपप्रमुख बाला कार्की, ओखढु‌गाकाे लिखु गाउँपालिका उपप्रमुख अस्मिता थापा, रामेछापका सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका नेताहरू, नागरिक अगुवा लगायत सहभागी हुनुभएको थियो ।