काठमाडौं, ४ भदौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एक महिनाकै अवधिमा विश्वका तीन शक्तिशाली राष्ट्रको भ्रमणमा गर्दै हुनुहुन्छ । उहाँले यही भदौ १४ गतेदेखि असोज ७ गतेसम्मको अवधिमा चीन, भारत र अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ । “प्रधानमन्त्री ओली अबको केही साताभित्र कूटनीतिका हिसाबले नेपालले सबैभन्दा बढी प्राथमिकतामा राखेका तीन देश चीन, भारत र अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयको एक स्रोतले भन्यो, “हामी प्रधानमन्त्रीले गर्ने तीन देशको भ्रमणको तयारीमा जुटेका छौं ।” प्रधानमन्त्री ओली सबैभन्दा पहिला चीन भ्रमणमा जाने कार्यक्रम छ । उहाँ सांघाई सहयोग संगठन (एससीओ)को २५औं शिखर सम्मेलनमा सहभागी हुन चीन जान लाग्नुभएको हो । सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजीमा हुँदैछ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुनेछन् ।
“प्रधानमन्त्री ओली भदौ १४ वा १५ गतेमध्ये एक दिन चीन प्रस्थान गर्नेगरी तयारी भइरहेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । एससीओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै हुनुहुन्छ । स्रोतका अुनसार, सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्री ओलीले यसअघि गतवर्ष मंसिर महिनामा चीनको औपचारिक भ्रमण गर्नुभएको थियो । चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भदौ ३० देखि असोज १ गतेसम्म भारतको भ्रमण गर्नेगरी अहिले परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमण तय भएको हो । “विगतमा पहिलो राजधानी नयाँ दिल्ली जाने परम्परा तोड्दै यसपटक प्रधानमन्त्री ओली काठमाडौंबाट चाटर्ड उडानमा सिधै बिहार राज्यको बोधगया जाने कार्यक्रम छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । सबै द्विपक्षीय भेटवार्ता बोधगयामा गर्नेगरी दुई देशबीच छलफल अघि बढिरहेको स्रोतले जनायो । भारतीय प्रधानमन्त्री मोदीसँग बोधगयामै प्रधानमन्त्री ओलीले भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला नेपाल र भारतबीच पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा भने हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओली २०८१ असार ३१ गते प्रधानमन्त्री भएपछि गर्न लागेको यो पहिलो भारत भ्रमण हो । यसबीचमा उहाँले भारत भ्रमण नगरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने दुई पटक भेटवार्ता गर्नुभएको छ ।
गतवर्ष संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा थाइल्याण्डको बैंककमा उहाँहरूबीच भेटवार्ता भएको थियो । भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ८० औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम छ । महासभा भदौ २४ गतेबाट सुरु हुने भएपछि उच्चस्तरीय पाहुनाहरूको सहभागिता र सम्बोधन असोज ७ गतेबाट सुरु हुनेछ ।
उच्चस्तरीय पाहुनाको रूपमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने छ। न्यूयोर्कमा नै प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्चस्तरीय पाहुनाको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुने छ । उक्त भोजमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच संक्षिप्त भेटवार्ता हुनेछ । “नेपालले आफ्नो वैदेशिक सम्बन्धको प्राथमिकतामा राखेका प्रमुख तीन देश भारत, चीन र अमेरिका हुन् । यी तीनै देशको भ्रमण प्रधानमन्त्री गर्दै हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्