काठमाडौँ, भदौ ४ । नेकपा एमालेले दोस्रो विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल हुनेछ । उक्त प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।
विधान संशोधन प्रस्तावमाथि सुझाव दिन पार्टीले मातहतका कमिटीलाई भदौ १० गतेसम्मको समयसीमा तोकिएको छ । ती सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र छलफलपछि पारित गरिने कार्यालय सचिव अधिकारीले बताउनुभयो ।
यसअघि एमालेको नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो । पार्टीले यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्