जनता टाइम्स

४ भाद्र २०८२, बुधबार २१:४५

भूमिहीन, उपेक्षित वर्गलाई अधिकार दिने सवालमा कुनै पनि राजनीतिक दलले हिचकिचाउनु हुँदैन : शंकर पोखरेल


काठमाडौँ, ४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि गम्भीर पहल गरिरहेको बताउनुभएकाे छ ।

बुधबार ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भूमि अधिकार तथा श्रमिक संगठन, नेपालको आयोजनामा ‘भूमिको समस्या समाधान, आयोग एवं सरोकारवालाको भूमिका’ विषयक अन्तरसंवादमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले भूमिको समस्या समाधान गर्ने काम अघि बढाइरहेको जानकारी दिनुभयो।

‘भूमिसम्बन्धी समस्या अहिले राखेर पछि गरौँला भन्ने पक्षमा सरकार छैन, पछि पनि भूमिको समस्या भइरहन्छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘त्यसैले सरकार जतिसक्दो भूमि समस्या समाधान गर्न खोजिरहेको छ।’

उहाँले भूमिमा देखिएका समस्या समाधान गर्न एमाले पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। ‘भूमिहीन, उपेक्षित वर्गलाई अधिकार दिने सवालमा कुनै पनि राजनीतिक दलले हिचकिचाउनु हुँदैन,’ उहाँको भनाइ छ ।

महासचिव पोखरेलले भूमिहीन सुकुम्वासीलाई भूमिको अधिकार राज्यले नै सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। साथै उहाँले भूमि आयोगलाई सक्षम र प्रभावकारी रूपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। ‘अहिले सबैभन्दा उपयुक्त समय हो, भूमि आयोगलाई काम गर्न सक्ने बनाउने जिम्मेवारी राजनीतिक दलकै हो,’ उहाँले भन्नुभयो।

कार्यक्रममा एमालेका भूमि अधिकार तथा श्रमिक संगठनकी इन्चार्ज शान्ता चौधरीले पनि भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

संगठनका अध्यक्ष इन्द्र तामाङले भूमि आयोगमार्फत भूमिहीनका दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो।