काठमाडौं, भदौ ५ । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले सहकारी ठगीको रकम पीडितले फिर्ता पाउनु पर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले विभिन्न प्रतिवेदको सुझाव अनुसार एकजनाले पनि रकम फिर्ता नपाएका बताउनुभयो । पीडितलाई न्याय दिनुको सट्टा एउटा अभियुक्तको पछाडि देश दौडिएको उहाँले बताउनुभयो ।‘ नेपाली कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन्, खोजी भइरहेको छ, यही गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि कति भित्र छन्, तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ’, उहाँले भन्नुभयो ।
आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा आउनु स्वाभाविक भएको बताउँदै उहाँले तर ७ वटा अदालतले अभियुक्त बनाएर छाड्न नमानेको मानिसलाई भेट्न पूर्वप्रधानमन्त्रीहरूको दौडधुप भएको प्रति उहाँले आपत्ति जनाउनुभयो । ‘यत्रो ठगेको छ, सातवटा अदालत बोल्छ, त्यही पनि यो भएन, त्यो भएन भनिएको छ, यो किन भयो भन्दा हामी कमजोर भएर हो’, उहाँले भन्नुभयो ।
महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतबिच भएको द्विपक्षीय व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने पनि बताउनुभयो । ‘हाम्रो भूमिको बारेमा सम्झौता भएको पढ्यौँ, सुन्यौँ, नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकीले गरेको यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ,यो आपत्तिजनक छ, अस्वीकार्य छ’, उहाँले भन्नुभयो ।
यो विषयमा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने र त्यो सन्देश दुवै छिमेकीलाई दिनुपर्ने थापाको भनाइ छ । ‘हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य छैन, नेपालले यसको प्रतिवाद गर्छ’,उहाँले भन्नुभयो ।
उहाँले सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपर्न पनि सुझाव दिनुभयो । दुई शीर्ष नेताले नबरालिई काम गर्ने हो भने अझै समय र अवसर भएको भन्दै उहाँले त्यसको प्रयोग गर्न सुझाव दिनुभयो ।
आफूहरू एउटै गाडीमा सवार भएको भन्दै उहाँले ड्राइभिङ सिटमा दुई नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहेको बताउनुभयो । ‘हामी एउटै गाडीमा सवार छौँ, ड्राइभिङ सिटमा दुई जना नेताहरू हुनुहुन्छ, अहिलेको र हुनेवाला प्रधानमन्त्रीले यो गाडी चलाइरहनुभएको छ, यो गाडी ठिक गतिमा जाओस्’, उहाँले भन्नुभयो ।
बाहिरबाट ढुङ्गा हान्ने र हिलो छ्याप्ने काम भइरहेको भन्दै उहाँले त्यसबाट जोगिनु पर्ने बताउनुभयो । आफूहरू त्यसबाट नेताहरूलाई जोगाउन प्रतिबद्ध रहेको बताउँदै उहाँले नेताहरूलाई पनि त्यही अनुसारको व्यवहार गर्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्