जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार १६:५४

योगेश भट्टराईको प्रश्न : उपसभामुख १० पटक कसरी विदेश भ्रमणमा जानुभयो, कहाँ जानुभयो, कसको निम्तोमा जानुभयो ? 


काठमाडौं, भदौ ५ । नेकपा एमालेका सचिव प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले उपसभामुख इन्दिरा राना माथि गम्भीर प्रश्नहरू उठेकाले त्यसको जवाफ दिनु पर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले संवैधानिक परिषद्को सङ्ख्यासँग यसलाई जोड्न आवश्यक नरहेको बताउनुभयो । रानाले गतवर्ष पनि अनधिकृत ढङ्गले अमेरिकी दूतावासलाई लेखेको पत्र बारे उहाँले ध्यानाकर्षण गराउनुभयो । उपसभामुखको विषय संसद्, सांसद र नेपाली जनताको गरिमासँग विषय जोडिएको भट्टराईको भनाइ छ ।

२०७२ साल कात्तिक १७ गते बालसंगठनको शिफल बालगृहबाट ५ जना बच्चाहरू हराएका बताउँदै उहाँले सोही वर्षको माघ १८ गते केन्द्रीय बाल समितिमा सो संस्थाका कर्मचारीले पिए नेपालका मानिसहरूले जबरजस्ती उठाएर लगेको भन्ने बयान दिएका र त्यसको तत्कालीन कार्यकारी प्रमुख हालकी उपसभामुख इन्दिरा शर्मा रहेको उहाँले स्मरण गराउनुभयो ।

त्यस सम्बन्धमा २०७६ साल कात्तिक १४ गते तत्कालीन पाटन उच्च अदालतका पूर्वन्यायाधीशको हरिबाबु भट्टराईको संयोजकत्वमा छानबिन समिति बनाइएको र त्यसको प्रतिवेदन हालसम्म सार्वजनिक नभएको भन्दै उहाँले सो सार्वजनिक गर्न माग गर्नुभयो । सो प्रतिवेदनमा पनि पिए नेपाल संलग्न भएको र कारबाहीको लागि सिफारिस भएको भन्ने सुनिएकोले सो प्रतिवेदन सार्वजनिक गर्न उहाँले आग्रह गर्नुभयो । ‘यस्तो गम्भीर आचरणमा संलग्न माथि छानबिन हुनुपर्छ कि पर्दैन’, उहाँले भन्नुभयो ।

उपसभामुख राना यो उपसभामुखको कार्यकालमा १७ पटक विदेश भ्रमणमा गएको उल्लेख गर्दै उहाँले यो सामान्य कुरा नभएको बताउनुभयो । ‘त्यस मध्ये सात पटक सभामुखले स्वीकृत गरेर भ्रमण गरेको देखिन्छ, १० पटक कसैले पनि स्वीकृत गरेको छैन, के आधारमा उहाँ भ्रमण गरिरहनु भएको छ, कहाँ जानु भएको छ, कसको निम्तोमा जानु भएको छ, यो गम्भीर विषय हो, १०/१० पटक कसैको जानकारी बिना, सभामुखको स्वीकृति बिना उपसभामुख विदेश भ्रमणमा गएको कुरा आचरण हो कि होइन ?’, उहाँले प्रश्न गर्नुभयो ।

उपसभामुखले अमेरिकामा भाषण गरिरहेको बताउँदै उहाँले त्यो कसको स्वीकृतिमा भएका र कसले अभिलेखीकरण गरेको छ ? भन्दै प्रश्न गर्नुभयो । त्यस विषयमा नेपाल सरकारका आधिकारिक निकायलाई थाहा छ कि छैन भन्ने  भट्टराईको प्रश्न छ ।

जनजाति वा महिलाको नाममा इमोसनल ब्ल्याकमेलिङ नगर्न उहाँले आग्रह गर्नुभयो । एउटा जनजाति महिला उपसभामुखबाट हट्यो भने अर्को दलित, जनजाति वा मधेसी महिला उपसभामुख बन्न सक्ने उहाँले स्पष्ट पार्नुभयो । जनजाति र महिलाको यस्तो कुरा गर्ने माननियज्यूहरुले राष्ट्रपतिमा सुवास नेम्वाङलाई त भोट हाल्नु भएन, अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिमा त भोट हाल्नु भएन, कहाँ जानु भएको थियो ?’, उहाँले भन्नुभयो ।

उहाँले लामो समयदेखि संसदमा बहिष्कार चलेको बताउँदै उहाँले अहिलेको विषय राजनीतिक विषय नभएर ठगीको विषय भएको बताउनुभयो । रवि लामिछानेले सहकारी ठगेको कुरा कसैले पनि छोप्न नसक्ने उहाँले दाबी गर्नुभयो ।

अदालतको छानबिनमा रहेका अभियुक्तलाई सिरमा राखेर नेता बनाउनेलाई नैतिकताको कुरा गर्ने नैतिक अधिकार नभएको उहाँले बताउनुभयो । त्यस्ता व्यक्तिलाई पूर्वप्रधानमन्त्रीहरू गएर भेट्ने कुरा गैरराजनीतिक मापदण्ड भएको उहाँको धारणा छ । अदालतलाई प्रभावित पार्ने यस्ता काम नगर्ने उहाँले आग्रह गर्नुभयो ।