जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार १९:३०

विद्यालय शिक्षा विधेयक समितिबाट पारित


काठमाडौँ, ५ भदौ।  प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको हो। विधेयकको केही दफामा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदले फरक मत दर्ज गराएका छन्।समितिमा माओवादी सांसदहरूले हाल कार्यरत बालविकास सहयोगीहरूलाई एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक प्रतिस्पर्धामा भाग लिन दिनुपर्ने फरक मत राखेका छन्। त्यस्तै शहीद, बेपत्ता, घाइते तथा विपन्न परिवारका विद्यार्थीलाई आवास र पोसाकको समेत व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तो व्यवस्थाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ।विधेयकमाथि सांसदहरु देवेन्द्र पौडेल, रेखा शर्मा, महिन्द्र राय यादव, ज्ञानु बस्नेत, सुमना श्रेष्ठ र विना जैसवालले बालविकास र छात्रवृत्तिका बारेमा फरक मत राखेको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिनुभयो । सभापति थापाले मन्त्रालयले स्वीकार गरेका विषय र भाषा मिलाउन समिति सचिवालयलाई निर्देशन दिनुभयो। उहाँले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन संसदको आगामी बैठकमा प्रस्तुत गरिने उल्लेख गर्नुभयो ।