जनता टाइम्स

६ भाद्र २०८२, शुक्रबार ०३:०२

आफ्नो स्वास्थ्यबारे अफवाह फैलाउनेप्रति प्रधानमन्त्री ओलीले दिए कठोर जवाफ


हिजो अलिकति चिसो लाग्यो, अलि खोकी लाग्यो, पार्लियामेन्ट जान सकिन । हस्पिटलाइज भको फोटो पनि हेरें, स्लाइन चढाएको फोटो पनि हेरें, अक्सिजन लिइराखेको फोटो पनि हेरें । आशिर्वाद दिनेहरुको आइरो पनि हेरें । बिरामी नै कहिल्यै नपर्ने मान्छेहरुलाई आज यस अवसरमा शुभकामना पनि दिऊँ–कहिल्यै बिरामी नपरुन, चिसो नलागोस, खोकी नलागोस, हाच्छिऊँ पनि नआवस, अरु केही नहोस ।

काठमाडौं, भदौ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यलाई लिएर अफवाह फैलाउनेहरुप्रति कठोर जवाफ फर्काउनु भएको छ ।

सिस्नुपानी नेपालले गाइजात्राको अवसरमा बिहीवार आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले आफूलाई चिसो र खोकीका कारण बुधवारको संसद बैठकमा उपस्थित हुन नसक्दा स्वास्थ्यबारे अनेकन हल्ला चलाइएको भन्दै कडा जवाफ दिनुभयो ।

बुधवार चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन । सो दिन संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहेको थियो । प्रधानमन्त्री सदनमा नगएपछि सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा अक्सिजन दिइएकोदेखि स्लाइन चढाइएकोसम्म तस्विर राखेर उहाँको स्वास्थ्यबारे अफवाह फैलाउने काम भएको थियो । सोही बिषयमा प्रधानमन्त्री ओलीले मुख खोल्नुभएको हो ।

‘हिजो (भदौ ५ गते बुधवार) मलाई अलिकति चिसो लाग्यो, अलिक खोकी पनि लाग्यो, त्यसैकारण पार्लियामेन्ट जान सकिन,’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हस्पिटलाइज भको फोटो पनि हेरें, स्लाइन चढाएको फोटो पनि हेरें, अक्सिजन लिइराखेको फोटो पनि हेरें । आशिर्वाद दिनेहरुको आइरो पनि हेरें । बिरामी नै कहिल्यै नपर्ने मान्छेहरुलाई आज यस अवसरमा शुभकामना पनि दिऊँ–कहिल्यै बिरामी नपरुन, चिसो नलागोस, खोकी नलागोस, हाच्छिऊँ पनि नआवस, अरु केही नहोस ।’ प्रधानमन्त्री ओलीले कहिल्यै बिरामी नपर्ने भनेर आफ्नो स्वास्थ्यबारे अनावश्यक हल्ला मच्चाउने र अफवाह फैलाउनेहरुप्रति मर्मस्पर्सी जवाफ दिनुभएको हो ।

प्रधानमन्त्री सहभागी कार्यक्रममा सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्णाली’ कार्यक्रम रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि महत्व दिनुपर्नेतर्फ सवैको ध्यानाकर्षण गराउनु भयो । कसैलाई दोषारोपण गरेर नभई कर्मठ भएर अघि बढ्दा मात्रै नेपाल बन्ने तथ्य पनि उहाँले राख्नुभयो ।

हिजो अलिकति चिसो लाग्यो, अलि खोकी लाग्यो, पार्लियामेन्ट जान सकिन । हस्पिटलाइज भको फोटो पनि हेरें, स्लाइन चढाएको फोटो पनि हेरें, अक्सिजन लिइराखेको फोटो पनि हेरें । आशिर्वाद दिनेहरुको आइरो पनि हेरें । बिरामी नै कहिल्यै नपर्ने मान्छेहरुलाई आज यस अवसरमा शुभकामना पनि दिऊँ–कहिल्यै बिरामी नपरुन, चिसो नलागोस, खोकी नलागोस, हाच्छिऊँ पनि नआवस, अरु केही नहोस ।

‘यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ तर, भएका विकास र प्रगतिका कुरा अझै जनतासम्म पुगेका छैनन, केही भएका छैनन भन्ने कुरा गलत हो । थुप्रै काम भएका छन, भएका कामको पनि चर्चा गर्ने गरौं । कर्णालीमा हामीले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कर्णालीको स्याउले अब बजार पाउँछ, अब सबै सदरमुकामसँगै हुम्लामा पनि पिच बाटो पुग्छ ।’

उहाँले कर्णालीमा भएको विकासलाई गीत–संगीतले चित्रण गर्न थालेको भन्दै मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरू अब यथार्थ भइसकेका तथ्य राख्नुभयो । दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको उदाहरण दिँदै उहाँले खानी उत्खनन र ग्यास प्रयोगतर्फ पनि सरकार सक्रिय रहेको जानकारी दिनुभयो ।

‘अब हामीले यार्सागुम्बा निर्याततर्फ पनि ध्यान दिनेछौँ,’ उहाँले भन्नुभयो, ‘निरङ्कुश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ, नेपाल बन्छ, बन्दै छ, कर्णाली बन्छ, बन्दै छ, सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।’