काठमाडौं, मंसिर १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद पुनर्गठनको अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक मन्त्री हेरफेरको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको हो ।
आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगको परामर्शमा मन्त्रिपरिषद हेरफेर गर्ने निश्कर्षमा पुगेको जानकारी गराउँदै सुझाव माग्नुभएपछि सचिवालयले अनुमति दिएको हो । ‘चाँडो भन्दा चाँडो मन्त्रिपरिषद हेरफेरह गर्ने कुरा भएको छ, प्रधानमन्त्रीलाई यस्को सवै जिम्मेवारी दिँदै सकेसम्म चाँडो सवैको सन्तुलन मिलाउँदै सरकारको काम प्रभावकारी बनाउनका लागि दृढ इच्छाशक्ति भएको ब्यक्तिलाई मन्त्री बनाउन हामीले सुझाव दिएका छौं,’ बैठकपछि नेकपाका बरिष्ठ नेता झलनाथ खनालले जनताटाइम्ससँग भन्नुभयो ।
बरिष्ठ नेता खनालले मन्त्रिपरिषद हेरफेरको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएकोले अव उहाँले आफ्नो अनुकुलता र आवश्यकताका आधारमा निर्णय लिने जानकारी दिनुभयो । आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारको कामलाई अझै रफ्तार दिन र संसदीय दल र पार्टीमा देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि मन्त्री हेरफेर गर्ने आफ्नो चाहना रहेको जानकारी गराउनु भएको हो । सचिवालय बैठकअघि अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग मन्त्री हेरफेरबारे छलफल गर्नुभएको थियो ।
स्रोतका अनुसार ओली र प्रचण्डबीच पाँचदेखि ९ जना मन्त्री परिवर्तन गर्ने सहमति भएको छ । दुई अध्यक्षबीच पाँच जना मन्त्रीको नाममा समेत छलफल भइसकेको छ । ‘मन्त्रिपरिषदबाट बाहिरिने पाँच जना मन्त्रीको नाम टुंगो लागेको छ, ९ जना वा सो भन्दा बढी फेरिने अवस्थामा थप गृहकार्य गरिने छ,’ प्रधानमन्त्री निकट उच्चस्रोतले जनताटाइम्ससँग भन्यो । पाँच जना मात्रै परिवर्तन भएको अवस्थामा भने पूर्वएमाले तर्फबाट तीन र पूवएमाओवादी तर्फबाट दुई जना मन्त्री परिवर्तन हुनेछ ।
मन्त्रिपरिषदबाट बाहिरिने पाँच जना मन्त्रीको नाम टुंगो लागेको छ, ९ जना वा सो भन्दा बढी फेरिने अवस्थामा थप गृहकार्य गरिने छ
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले एकदुई दिनमा मन्त्रिमण्डल पुनर्गठनको सोच बनाएको जानकारी गराउनु भएपछि उहाँलाई सम्पुर्ण अधिकार दिइएको हो । ‘औपचारिक रुपमा बैठकको एजेण्डा थिएन । तर, प्रसंग उठिहाल्यो । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाएको छु भनेर जानकारी दिएपछि सबैपक्षलाई समेटेर पुनर्गठन गर्नुहोला भन्ने सुझाव दिएका छौं,’ सचिवालयका अर्का नेताले भने । बैठकमा सबै नेताहरुले मन्त्रिमण्डल पुनर्गठन गर्दा भूगोल, पार्टीमा गरेको योगदान, समावेशीतालाई ख्याल राख्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्