जनता टाइम्स

२ मंसिर २०७६, सोमबार ०७:५१

बैतडी डोजरले महिला हुत्याउने चालकलाई अदालतले दियो यस्तो आदेश


बैतडी, मंसिर २ । जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

आइतबार जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिए। यस्तै अदालतले चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

गत कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माणका क्रममा स्थानीयवासी गौरी जोशीलाई डोजर चालकले हुत्याएको थियो।

सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो।

आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजर चालकले महिलालाई हुत्याएको थियो। चालक बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो। यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीयवासी भोजराज र धर्मानन्दलाई कात्तिक ६ गते पक्राउ गरिएको थियो। सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक स्थानमा शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले पक्राउ गरेको भए पनि उनी हाल प्रहरी हिरासतमै छन्। प्रहरीले अनुसन्धान गरेर फाइल बुझाइसकेकाले सोमबार जिल्ला प्रशासन कार्यालयले टुङ्गो लगाउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। छानबिन समितिले प्रतिवेदन बुझाउन सकेन बैतडी डोजर प्रकरणका विषयमा अदालतले निर्णय गरिसकेको अवस्थामा पनि गत कात्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन।