जनता टाइम्स

७ भाद्र २०८२, शनिबार ११:१२

पूर्वराष्ट्रपतिको गतिविधि एमालेलाई सिद्ध्याउने षडयन्त्र : कमलप्रसाद चौलागाईँ


रामेछाप, भदौ ७ । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमाथि अहिले पनि विदेशी हस्तक्षेप तीव्र रूपमा जारी रहेको दाबी गर्नुभएको छ ।

शनिबार रामेछापमा सम्पन्न नेकपा एमालेको पाँचौँ पूर्णबैठकलाई सम्बोधन गर्दै चौलागाईँले अन्तर्राष्ट्रिय शक्ति–गिरोहहरूले ‘केपी ओलीबिनाको एमाले र एमालेबिनाको नेपाल’ बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँका अनुसार हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतितर्फ फर्कन खोजिएको गतिविधि त्यही योजनाको अंश हो ।

उहाँले भन्नुभयो – ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा फर्किन्छु भन्ने कुरा त्यही अन्तर्राष्ट्रिय षडयन्त्रको परिणाम हो, एमाले अध्यक्ष केपी ओलीलाई हटाउनुपर्ने कुनै आन्तरिक कारण छैन, अहिलेको विरोध राष्ट्रिय हितको लागि खटिएका नेतामाथि भएको बाह्य हस्तक्षेपकै परिणाम हो ।’

चौलागाईँले केपी ओलीलाई हटाउने प्रयास कुनै पनि वैचारिक वा संगठनात्मक कारणले नभई, नेपालमाथि हुने बाह्य हस्तक्षेपको प्रतिवाद गर्ने भूमिकाका कारण भएको दाबी गर्नुभयो । ‘भारतको नाकाबन्दीको प्रतिरोध गर्ने होस् वा नेपालको नयाँ नक्सा जारी गर्ने होस्, प्रत्येक ऐतिहासिक घडीमा केपी ओली चट्टानझैँ उभिनुभयो, त्यसैले उहाँलाई कमजोर पार्ने, पार्टीलाई विभाजन गर्ने र एमालेबाहेकको विकल्प खडा गर्ने खेल भइरहेको छ’, उहाँले भन्नुभयाे ।

 

अस्थिरता कायम राख्न चाहने शक्ति–समूहले एमालेभित्र फुटको राजनीति गरिरहेको उहाँले बताउनुभयाे । चौलागाईँले हालैका गतिविधिहरूलाई सोही दीर्घकालीन रणनीतिसँग जोड्दै भन्नुभयो– ‘हामीले मिसन २०८४ अघि सारेका छौँ, एमाले एक भएर संगठन सुदृढ गरेर अगाडि बढ्यो भने २०८४ मा स्पष्ट बहुमत ल्याउन सक्छ भन्ने कुरा ती शक्तिहरूले बुझिसकेका छन्, त्यसैले अहिले देखिएका गतिविधि अझै धेरै हुन्छन्, २०८४ सम्म अझ धेरै यस्ता प्रयास हुनेछन् ।’

पार्टी संगठन सुदृढीकरणलाई प्रमुख कार्यका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै चौलागाईँले तल्लो संरचनालाई बलियो बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘मुख्य केन्द्र पालिकालाई बनाउनु पर्छ, पालिकाले सक्षम नेतृत्व खोजिरहेको छ, पार्टीको जरा–केन्द्रित अभियानले राजनीतिक र सामाजिक अवस्थाबारे स्पष्ट प्रतिवेदन दिएको छ, त्यसकै आधारमा पार्टीले काम अगाडि बढाउनु पर्छ ।’