जनता टाइम्स

७ भाद्र २०८२, शनिबार १६:२८

युवाहरू धैर्यता, अनुशासन, मेहनत र इमानदारिताको जगमा उभिनु पर्छ : राधिका शाक्य 


काठमाडौं, भदौ ७ । प्रथम महिला राधिका शाक्यले चाहेको खण्डमा नेपाली समाजमा काम गर्ने क्षेत्र धेरै फराकिलो भएको बताउनुभएको छ ।

अनेरास्ववियु केन्द्रीय महिला विभागद्वारा शनिबार आयोजित तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै कार्यक्रमकी प्रमुख अतिथि शाक्यले समाजलाई कता लैजाने भन्ने कुरा वर्तमान पुस्ताको हातमा रहेको बताउनुभयो ।

महिला, बालबालिका माथि हुने हिंसा वा अन्य कुनै पनि खालका अन्याय र अत्याचार समाजमा हुन दिनु नहुने उहाँको धारणा छ । ‘आफूलाई नपर्दासम्म यो उसको समस्या हो भन्ने कुरा हामीले त्याग्नु पर्दछ, आँखा अगाडि देखिएका समस्यामा आवाज उठाउनु पर्छ’, उहाँले भन्नुभयो ।

उहाँले युवालाई जुन क्षेत्रमा गए पनि इमानदार हनु आग्रह गर्नुभयो । अनेरास्ववियुमा लागेर काम गरेको अनुभवले त्यसमा सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘युवा पुस्ता हरेक क्षेत्रमा सक्षम, इमानदार र मेहनती बन्नु पर्दछ’, उहाँले भन्नुभयो ।

४० वर्ष अगाडि आफूले पनि केही समय अनेरास्ववियुमा काम गरेको स्मरण गराउँदै त्यति बेलाको राजनीति अहिलेको जस्तो नभएको उहाँले बताउनुभयो । ‘तर पनि म आजसम्म जुन स्ट्यण्डमा उभिएको छु मेरो राजनीतिको गुरु यही अनेरास्ववियु नै हो, त्यही अनेरास्ववियुमा बस्दा मैले पाएका अनुशासन, मेहनत र इमानदारितालाई अज जेष्ठ नागरिक बन्दा पनि पालना गरिरहेको छु भन्ने लाग्छ’, उहाँले भन्नुभयो ।

युवालाई यता जाँदा राम्रो हुन्छ कि, उता जाँदा राम्रो हुन्छ कि भनेर यता र उता नलाग्न उहाँले आग्रह गर्नुभयो । यसले अघि बढ्ने बाटो बन्द हुने शाक्यको धारणा छ । जीवनलाई सुखमय बनाउन धैर्यता र लगनशीलता आवश्यक पर्ने उहाँले बताउनुभयो । ‘अहिलेका युवाले धैर्यता राख्न गाह्रो छ, धैर्यता बिना हामी अगाडि बढ्न सक्दैनौँ, यो सबैभन्दा बलियो हतियार हो,’ उहाँले भन्नुभयो ।

आफ्नो कामलाई सफल बनाउन धैर्यता आवश्यक रहेको उहाँले बताउनुभयो । धैर्यताका साथ आफ्नो लक्षमा अगाडि बढ्न उहाँले सबै विद्यार्थीलाई शुभकामना दिनुभयो ।