जनता टाइम्स

८ भाद्र २०८२, आईतवार १४:४०

विद्या भण्डारी सबै पद र पार्टीको सदस्यता परित्याग गरेर राष्ट्रपति बन्नुभएको हो : शेरधन राई 


काठमाडौं, भदौ ८ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोसी प्रदेश इञ्चार्ज शेरधन राईले विद्या भण्डारीलाई एमालेले राष्ट्रपति बनाएको नबिर्सन आग्रह गर्नुभएको छ ।

नेकपा एमाले भोजपुरको पाँचौँ पूर्णबैठकलाई सम्बोधन गर्दै उहाँले एमालेले भण्डारीलाई पहिलो महिला राष्ट्रपति बनाएको बताउनुभयो । ‘पार्टीले फिसफिस गर्‍यो, सबै पद र पार्टीको सदस्यता परित्याग गरेर उहाँ पहिलो महिला राष्ट्राध्यक्ष हुनभयो, गणतन्त्र नेपाल पछिको दोस्रो तर पहिलो महिला राष्ट्राध्यक्ष हुनुभयो’, उहाँले भन्नुभयो ।

भण्डारीले पार्टीमा लामो समय योगदान पुर्‍याएकै कारण पार्टीले उहाँलाई सो पदमा बसेर काम गर्न सक्नु हुन्छ भनेर राष्ट्रपति बनाएको राईले बताउनुभयो । भण्डारीले दुवै कार्यकाल राम्रो भूमिकाका साथ पुरा गर्नुभएको राईको भनाइ छ ।

उहाँको सदस्यता नवीकरण र राजनीतिमा फर्कने कुरा पार्टी भित्र छलफल गरेर ल्याउनु पर्नेमा सार्वजनिक कार्यक्रम गरेर गर्नु गल्ती भएको राईले बताउनुभयो । ‘सक्रिय राजनीतिमा आउँदै छु, पार्टी अध्यक्षकै निम्ति आउँदै छु भन्ने कुरा पार्टी भित्रबाट होइन बाहिर सञ्चारमाध्यमबाट आयो, जुन कुरा हामीले अपेक्षा गरेका थिएनौँ, पार्टीले पनि अपेक्षा गरेको थिएन, त्यो प्रक्रियागत पद्धति भित्र पनि पर्दैन थ्यो’, उहाँले भन्नुभयो ।

राईले जिल्लाकै हिसाबले राजनीतिक जीवनमा भण्डारीले आफूलाई२ सहयोग गरेको भए पनि राजनीतिक कुरामा पार्टीको निर्णयबाहिर जान नसक्ने प्रष्ट पार्नुभयो । एमालेमा फर्किने कुरा आएपछि भण्डारीसँग आफू छलफल गरेर नेतासँग कुरा गराउन सहजीकरण गरे पनि उहाँ पद्धतिभित्र नआएको राईले बताउनुभयो ।