जनता टाइम्स

८ भाद्र २०८२, आईतवार १७:४८

संविधान असफल बनाउने षड्यन्त्र भइरहेको गृहमन्त्रीको खुलासा, को होला षड्यन्त्र गर्ने शक्ति ?


काठमाडौं, भदौ ८ । गृहमन्त्री रमेश लेखकले मुलुकमा संबिधान असफल बनाउने षडयन्त्र भइरहेको खुलासा गर्दै सचेत रहन सवैलाई अपिल गर्नुभएको छ ।

द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको भन्दै गृहमन्त्री लेखकले मुलुकमा यतिबेला संबिधानबिरोधीहरुको षडयन्त्र मौलाएको बताउनु भएको हो । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौति विषयक उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले संबिधानमाथिको प्रहार सैह्य नहुने बताउनु भयो । वर्तमान संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व हुने पनि गृहमन्त्री लेखकको भनाइ छ ।

‘केही मान्छे संविधान असफल बनाउने षड्यन्त्र गरिराख्नुभएको छ । संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक छ,’ गृहमन्त्री लेखकले भन्नुभयो । संबिधानबिरुद्ध षडयन्त्र भइरहेको बताए पनि गृहमन्त्री लेखकले नाम भने सार्वजनिक गर्नुभएन ।

’द्वन्द्वको प्रकृति फरक छ । जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो,’ उनले भने। द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ ।

’द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी कै हुन्छन । सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउछ । द्वन्द्व व्यवस्थापनमा,द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो,’ गृहमन्त्री लेखकले भन्नुभयो । देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले स्मरण गर्नुभयो ।

’अहिलेसम्म नेपालमा सात वटा संविधान बने । धेरै संविधान बन्ने कुरा राम्रो होइन । धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हो,’ गृहमन्त्री लेखकले भन्नुभयो । यस्तै संविधानले गरेको अधिकारको बाँडफाँडले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्रीको भनाई छ ।