काठमाडौं, भदौ ८ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीलाई सही विचारले नै सही दिशामा अघि बढाउने बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेको पचौँ पूर्णबैठकलाई बाँकेमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई अघि बढाउन स्पष्ट दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक पर्ने बताउनुभयो । नेकपा एमाले स्पष्ट नीति र दूरदर्शी नेतृत्व सहितको पार्टी भएको उहाँले दाबी गर्नुभयो । समाज रूपान्तरण गर्ने पार्टीका लागि यो कुरा अनिवार्य रहेको उहाँले बताउनुभयो ।
एमालेले देशलाई समाजवादको बाटोमा अघि बढाइरहेको बताउँदै उहाँले त्यसमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गरिने बताउनुभयो । ‘हामी नेपाली विशेषतामा आधारित समाजवाद स्थापना गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो ।
एमाले यतिबेला विधान अधिवेशनको तयारीमा जुटेको बताउँदै उहाँले विधानमा संशोधन गर्न लागिएका विषय पार्टी केन्द्रले तलसम्म पठाएको बताउनुभयो । ती विषयमा तलबाट आएका सुझावलाई समेत समेटेर पार्टीले विधान संशोधन गर्ने पोखरेलले जानकारी दिनुभयो ।

पार्टीलाई अब मिसन २०८४ केन्द्रित गरेर अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । यसका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘एउटा लयमा हिँडेन भने त्यो प्रवाह अघि बढ्दै बढ्दैन, निर्णय हुनु अघि छलफल हुन सक्दछन्, पार्टीले निर्णय गरेपछि एउटै लयमा हिँड्न आवश्यक छ’, पोखरेलले भन्नुभयो ।
कार्यकर्ताबाट चलेका पार्टीले मात्र समाज बदल्न सक्ने पोखरेलको धारणा छ । बाहिरबाट सहयोग लिएर चलाएको पार्टीले काम गर्दै नगर्ने उहाँले धारणा राख्नु भएको हो ।
संविधानको संरक्षक भइसकेका पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्कनु नहुने उहाँको धारणा छ । गणतन्त्रलाई विवादमा पार्नु हुँदैन भनेर एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउनु हुँदैन भनेर भनेको पोखरेलले स्पष्ट पार्नुभयो ।
नेपालमा लोकतन्त्रको मानक नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो । त्यसैले कसले के गर्यो भन्दा पनि एमालेले के गर्छ भन्ने कुरा प्रमुख हुने उहाँको धारणा छ ।

अहिले एमाले र एमालेको नेतृत्वका विरुद्ध सबै खालका आक्रमण भइरहेको उहाँले बताउनुभयो । त्यसका विरुद्ध सिङ्गो पार्टी एकताबद्ध हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टी भित्र अहिले भइरहेको बहसले पार्टीमा केही अराजकता बढेको उहाँले बताउनुभयो । अधिवेशन अगाडि यी कुरालाई पार्टीले उदारतापूर्वक लिएको बताउँदै उहाँले अधिवेशन पछाडि पनि यस्तै भइरह्यो भने पार्टीले नसहने पोखरेलको भनाइ छ ।
नेपाल राष्ट्रलाई आफ्नो अनुकूल प्रयोग गर्न नसकेकाहरूलाई एमाले मन नै परेको पोखरेलले बताउनुभयो । त्यसैले उनीहरूले एमाले र एमाले नेतृत्वका विरुद्ध प्रहार गरिहरेका उहाँको भनाइ छ ।
शत्रुहरूले प्रशंसा गर्दा डराउनु पर्ने भन्दै उहाँले नीति र कार्यक्रम सही हुँदा नै बैरीहरूले प्रहार गर्ने पोखरेलले सुनाउनुभयो । निर्णायक राष्ट्रिय शक्ति बन्न एमालेले प्रयास गरिरहँदा भइरहेको अहिलेको प्रभावले एमाले सही दिशामा नै रहेको पोखरेलको भनाइ छ ।
अहिले राम्रो बोल्नेहरू सामाजिक सञ्जालमा व्यक्त नहुँदा खराब मानिसहरूले सामाजिक सञ्जालमा ठाउँ पाएका उहाँले बताउनुभयो । राम्रा मान्छेहरूले सामाजिक सञ्जाल कब्जा गर्ने हो भने खराब तत्त्वहरू भाग्ने उहाँको धारणा छ ।













प्रतिक्रिया दिनुहोस्