काठमाडौं, भदौ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको दर खाने दिनको अवसरमा सबै दिदीबहिनी र परिवारलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तीज पर्वलाई ‘पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित, विवाहित छोरी र माइतीबिचको पारिवारिक मिलापलाई प्रगाढ बनाउने पर्व’ भन्दै यसको महत्त्व स्मरण गराउनुभएको हो ।
उहाँले हिजोको समाजमा भौतिक सुविधा नहुँदा दिदीबहिनीलाई लिन गाउँ–गाउँ पैदल पुग्ने, पुल नभएका कारण खोलानाला तर्ने कठिनाइ र खबर आदानप्रदान गर्ने माध्यमको अभावलाई पुराना तीज गीतमै भेट्न सकिने उल्लेख गर्नुभएकाे छ। उहाँका अनुसार, परम्पराअनुसार दर माइती घरमै खाने चलन थियो ।
समाज र परिवार संरचनामा आएको परिवर्तनतर्फ ध्यानाकर्षण गर्दै प्रधानमन्त्री ओलीले संयुक्त परिवार संस्कृतिमा ठूलो रूपान्तरण भएको, परिवारका सदस्यहरू फरक–फरक स्थानमा बस्ने र महिलामा आत्मनिर्भरता तथा सशक्तीकरण बढ्दै गएको बताउनुभएकाे छ । यसले दर खाने प्रचलनमा पनि फेरबदल आएको उहाँको भनाइ छ । ‘विवाहित छोरी सहित वर्षमा एकदिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मीयता साट्ने अवसर हो यो’, प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।
तीजको अवसरमा सबै नेपालीको जीवन संस्कृतिको सुगन्धले भरिन र पारिवारिक ममताले अझ प्रगाढ बन्ने शुभेच्छा व्यक्त गर्दै उहाँले दर खाने दिनको शुभकामना दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्