जनता टाइम्स

१० भाद्र २०८२, मंगलवार १४:१०

एमालेले स्थगित गर्यो भदौ १३ गते बोलाइएको केन्द्रीय कमिटी बैठक, यस्तो छ खास कारण


काठमाडौं, भदौ १० । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

पार्टीको दोस्रो विधान महाधिवेशनको तयारी स्वरूप यही भदौ १३ गते बस्ने गरी तय गरिएको बैठक अन्तिम तयारी नपुगेका कारण स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गर्ने तय भएको थियो । एमालेले विधान संशोधनसम्बन्धी सुझाव पठाउन मातहतका कमिटीलाई भदौ १० गतेसम्मको समयसीमा दिएको थियो । ती सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने र केन्द्रीय कमिटीमा पेस गर्ने तयारी गरिएको छ ।  विधान संशोधन मस्यौदा माथि आएको सुझावहरू मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको गौतमले जानकारी  दिनुभयो ।

यसअघि एमालेको नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।  सो बैठकले विधान संशोधनको ड्राफ्ट तल्ला कमिटीमा छलफलको लागि पठाएको थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ सम्म हुने तय भएको छ । विधान संशोधन, संगठनात्मक सुदृढीकरण र भावी रणनीति तय गर्ने महाधिवेशनलाई नेतृत्वले निर्णायक मानिरहेको छ ।