जनता टाइम्स

२ मंसिर २०७६, सोमबार १२:०१

मन्त्रिपरिषद पुनर्गठन गृहकार्यमा प्रधानमन्त्री ओली : हटाउने पाँच मन्त्रीको नाम टुंगो लाग्यो


काठमाडौं, मंसिर २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद पुनर्गठनको जिम्मा दिएसँगै पाँच जना मन्त्री फेरिने भएका छन । नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच तात्कालिन एमालेतर्फका तीन र तात्कालिन माओवादी केन्द्र तर्फबाट दुई गरी पाँच जना मन्त्री फेर्ने सहमति भएको हो ।

अध्यक्षद्वय ओली र प्रचण्डले फेरिने मन्त्रीको नामसमेत टुंगो लगाउनु भएको छ । दुई अध्यक्षले नाम भने गोप्य राख्नुभएको छ । सो सहमतिअनुसार पहिलो चरणमा एक जना महिलासहित पाँच जना मन्त्री हटाइनेछ । ‘प्रधानमन्त्री ओली र प्रचण्डबीच पाँच जना मन्त्री हटाउने सहमति भई नामसमेत टुंगो लागेको छ, हटने सूचीमा पूर्वएमालेतर्फबाट मन्त्री भएका तीन र पूर्व माओवादीतर्फका दुई जना रहेका छन, एक जना महिलासमेत हुनुहुन्छ,’ बालुवाटार निकट स्रोतले जनताटाइम्ससँग भन्यो । यसरी हटने सूचीमा अध्यक्षद्वय ओली प्रचण्ड निकट दुई दुई र नेता माधवकुमार नेपाल निकट एक मन्त्री रहेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले अवको मन्त्रिपरिषद हेरफेर गर्दा पूर्वएमाले र पूर्वमाओवादी नहेरी सरकारको कामलाई तीब्र पार्ने मिसनमा सहयोगी बन्ने ब्यक्तिलाई मन्त्री बनाउन सुझाउनु भएको छ । अध्यक्ष प्रचण्डले सात जनाबाहेक सवै मन्त्री हेरफेर गर्दासमेत आफ्नो कुनै असहमति नहुने जानकारी प्रधानमन्त्री ओलीलाई गराउनु भएको छ ।

दुई अध्यक्षबीचको सहमतिअनुसार आइतवारको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी गराउनु भएको थियो । सचिवालय बैठकले सरकारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक मन्त्री हेरफेरको जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको छ । सोहीअनुसार प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीको सूची बनाउनु भएको छ ।