जनता टाइम्स

१० भाद्र २०८२, मंगलवार १६:५२

पत्रकारको मागलाई सकारात्मक रूपमा लिएको छु, प्रेस स्वतन्त्रता सुरक्षित गरिन्छ : हिक्मत कार्की


विराटनगर,  भदाै १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा दर्ता भएको आम सञ्चार विधेयकबारे थप छलफल आवश्यक रहेको बताउनुभएकाे छ ।

मंगलबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरूको मागलाई सकारात्मक रूपमा लिएको बताउँदै सरोकारवाला दलहरूसँग छलफल गरेरै विधेयकलाई अगाडि बढाइने स्पष्ट पार्नुभयो। ‘संसदमा प्रवेश गरिसकेको विधेयक अब सरकारको मात्रै विषय होइन, यसलाई सरोकारवाला दलहरूसँग छलफल गरेरै अघि बढाइन्छ’, उहाँले भन्नुभयाे ।

मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएदेखि नै पत्रकारहरूको दर्बिलो संस्था बनाउन चाहेको उल्लेख गर्दै कानुनमार्फतै संस्थागत आधार तयार पार्ने सोचअनुरूप विधेयक ल्याइएको जानकारी दिनुभयो।

उहाँले विगतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हुँदा बनेको पत्रकार संस्था बिचैमा खारेज हुँदा सरकार मौन बसेको स्मरण गर्दै अहिले त्यसको परिपूर्ति गर्न कानुनमार्फतै प्रयास गरिएको जानकारी दिनुभयाे। ‘ अहिले ल्याइएको विधेयकमा केही विषयहरूबारे छलफल आवश्यक भएकाले समय लाग्ने देखिन्छ,’ उहाँले भन्नुभयाे।

मुख्यमन्त्री कार्कीले आफू प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारप्रति पूर्णतः प्रतिबद्ध रहेको दोहोर्याउँदै पत्रकारहरूको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो।

सो अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र महासचिव हिमा चेम्जोङले पत्रकारहरूको माग र सम्बोधन गर्नुपर्ने विषयबारे संस्थागत धारणा मुख्यमन्त्री समक्ष राख्नुभएको थियो।