काठमाडौं, भदौ ११ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले पक्राउ गरेको छ । बझाङकी एक युवतीको चरित्र हत्या गरेको आरोपमा महरलाई प्रहरीले पक्राउ गरेको हो ।
एमाले नेता महर अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा उपस्थित हुनुभएको थियो । ब्यूरोले कार्यालयबाटै पक्राउ पुर्जी दिएर अदालत लगेको छ ।
प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपक अवस्थीका अनुसार यही भदौ ५ गते हुलाक कार्यालयमार्फत प्रहरीमा जाहेरी आएको थियो । त्यसपछि सोधपुछका लागि भन्दै महरलाई बोलाइएको थियो ।
प्रहरीले महरविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट सोमवार अर्थात भदौ ९ गते पक्राउ अनुमति लिइसकेको थियो । त्यसपछि बुधबार कार्यालय पुगेका महरलाई पक्राउ पुर्जी थमाइएको हो । एसपी अवस्थीका अनुसार, महरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्नुपर्ने जाहेरीमा उल्लेख छ । यो दफामा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने भनिएको छ ।
उपदफा (१) मा भनिएको छ, ‘कम्प्युटर इन्टनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धीलाई खलल पार्नै किसिमको सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सामाजिक सञ्जालमा लाइभ बसेर पीडितको चरित्र हत्या गरेको आरोप महरमाथि छ ।













प्रतिक्रिया दिनुहोस्