जनता टाइम्स

११ भाद्र २०८२, बुधबार १७:४८

यी हुन प्रधानमन्त्री ओलीसँग चीन जाने टोलीका सदस्य, तीन मन्त्री र सत्तारुढ दलका सांसदको नाम तय


काठमाडौं, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा रहने प्रतिनिधिमण्डको नाम तय भएको छ । भदौ १४ गते पाँच दिने चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य र तीन मन्त्री रहनुभएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का र छबिलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्चपदस्थ सरकारी अधिकारीहरू रहनुभएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उहाँ भदौ १६ गते नै तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनका दौरान प्रधानमन्त्री ओलीले विश्वका अन्य नेताहरूसँग साइडलाइन वार्तासमेत गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यसपछि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुहुनेछ । बेइजिङमा प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनु हुनेछ ।