काठमाडौं, भदाै १२ । सत्तारुढ दल नेकपा एमाले निकट प्रेस चौतारी नेपालले राष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउन नमिल्ने व्यवस्था संविधानबाटै किटान गर्नुपर्ने सुझाव पार्टीलाई दिएकाे छ ।
बिहीबार चौतारीका अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारीहरूले महासचिव शंकर पोखरेललाई भेटेर सुझाव बुझाउनु भएकाे हाे ।पूर्वराष्ट्रपतिको राजनीतिक यात्रा, दुई कार्यकाल र ७० वर्षे उमेरहद, केन्द्रीय कमिटी, पार्टी सदस्यता, सम्पर्क समन्वय कमिटी लगायतका विषयमा सुझावहरू महासचिव पोखरेलमार्फत पार्टीलाई बुझाइएको हो ।
‘देशको सर्वोच्च संस्था राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तित्वहरू सक्रिय राजनीतिमा फर्कने विषय यी पदहरूको गरिमा र नैतिक मूल्यमान्यताका हिसाबले पनि उपयुक्त मानिँदैनन्,’ चौतारीले बुझाएको सुझावमा भनिएको छ, ‘त्यसैले त्यस्ता पदमा पुगेका व्यक्तिहरूलाई ससम्मान सक्रिय राजनीतिमा फर्कन नपाउने व्यवस्था देशको संविधान र पार्टीको विधानमा किटान गर्नुपर्दछ ।’
यसका अलावा विभिन्न संवैधानिक आयोगमा नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई पनि सक्रिय राजनीतिमा आउने कुरालाई रोक्नु उपयुक्त हुने सुझाव चौतारीले दिएको छ ।
प्रेस चौतारी नेपालले बिधान महाधिवेशनका लागि तयार गरिएको सुझाव महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको छ। अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत , जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, इंचार्ज राजेन्द्र गौतम, र निवर्तमान अध्यक्ष गणेश बस्नेतको उपस्थितिमा सुझाव हस्तान्तरण गरिएको हो।
विषयः सुझाव पठाएको सम्बन्धमा ।
नेकपा (एमाले) को आसन्न दोस्रो विधान महाधिवेशन (२०-२२ भदौ, २०८२) मा प्रस्तुत गरिने राजनीतिक तथा सांगठानिक प्रतिवेदनमा समेट्नुपर्ने केही महत्वपूर्ण बुँदाहरू प्रेस चौतारी नेपालका तर्फबाट सुझावका रूपमा पेश गरिएको अनुरोध छ ।
१. प्रेस स्वतन्त्रताका सम्बन्धमा
नेकपा (एमाले)ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण र सम्बर्द्धन गर्दै आएको छ । यसर्थ, नेपालको संविधानले नै प्रत्याभूति गरेको प्रेस स्वतन्त्रतालाई पार्टी विधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’ भन्ने वाक्यांश राख्नु उपयुक्त हुने प्रेस चौतारी नेपालको सुझाव छ ।
२. दुई कार्यकाल र ७० वर्षे उमेर हदका सम्बन्धमा
कुनै पनि पार्टी वा आन्दोलनको नेतृत्व गर्न विशेष अनुभव चाहिन्छ । अनुभव प्राप्त गर्नका लागि मानिसको सांगठानिक र राजनीतिक जीवन, क्षमता, योग्यता र सर्वस्वीकार्यता प्रारम्भिक शर्त हो । पछिल्ला वर्षहरूमा नेपालीको औषत आयु पनि बढी रहेको अवस्थामा नेकपा (एमाले) जस्तो विशाल पार्टीले ७० वर्षे उमेरको हद हटाउने र दुई कार्यकाल मात्र पार्टी अध्यक्ष हुन पाउने प्रावधान हटाउने पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयलाई प्रेस चौतारी नेपाल स्वागत र समर्थन गर्दछ ।
३. केन्द्रीय कमिटीका सन्दर्भमा
नेकपा (एमाले) ले जनसंगठनहरूमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार ठूलो भएका भन्दै ‘पदाधिकारी वान डिजिट’ तथा अधिकांश जनसंगठनको ‘केन्द्रीय कमिटी टू डिजिट’मा झार्ने निर्णय कार्यान्वयन गरिसकेको छ । त्यसैले पार्टीमा पनि यो अभ्यास गर्नु बाञ्छनीय
हुन्छ । यसका लागि विधान संसोधन प्रस्तावको धारा-१६ मा उल्लेख भएको १५ सदस्यीय पदाधिकारीलाई ९ कायम गर्न प्रेस चौतारी नेपालको सुझाव छ । केन्द्रीय कमिटीको संख्या २५१ कायम गर्न चौतारीको सुझाव छ ।
४. पार्टी सदस्यता सम्बन्धमा
क) प्रस्तावित विधानको धारा ४ मा उल्लेख गरिएको पार्टी सदस्यको प्रकारमा दुई प्रकारका सदस्य उल्लेख रहेको छ । जसमध्ये पहिलो ‘पार्टी सदस्य’ भन्ने प्रावधानलाई ‘साधारण सदस्य’ वा ‘प्रारम्भिक सदस्य’ राख्नु उपयुक्त हुन्छ ।
ख) जनसंगठनमा संगठित भएको बढीमा एक वर्ष भित्रमा पार्टीको साधारण सदस्य लिइसक्नु पर्ने प्रावधान विधानमा राख्नु उपयुक्त हुन्छ ।
५. सम्पर्क समन्वय कमिटीका सन्दर्भमा
विधानको धारा ५४ मा उल्लेख भएको सम्पर्क समन्वय कमिटी अन्तर्गत ‘आवश्यक संख्या पुगेमा जनसंगठनले पनि सम्पर्क कमिटी गठन गर्न सक्ने’ भन्ने प्रावधान थप्नु उपयुक्त हुन्छ ।
६. विशेष सुझावहरू
क) देशको सर्वोच्च संस्था राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तित्वहरू सक्रिय राजनीतिमा फर्कने विषय यी पदहरूको गरिमा र नैतिक मूल्यमान्यताका हिसाबले पनि उपयुक्त मानिँदैनन् । त्यसैले त्यस्ता पदमा पुगेका व्यक्तिहरूलाई ससम्मान सक्रिय राजनीतिमा फर्कन नपाउने व्यवस्था देशको संविधान र पार्टीको विधानमा किटान गर्नुपर्दछ । यसका अलावा विभिन्न संवैधानिक आयोगमा नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई पनि सक्रिय राजनीतिमा आउने कुरालाई रोक्नु उपयुक्त हुन्छ ।
ख) केन्द्रीय कमिटीमा कतिपय जनसंगठनबाट धेरैको प्रतिनिधित्व हुने तर कतिपय जनसंगठनबाट प्रतिनिधित्व नै नहुने अवस्थाको अन्त्य गरिनुपर्छ । साथै, जनसंगठनका अध्यक्षहरूलाई पार्टीको केन्द्रीय कमिटीको पदेन सदस्यको व्यवस्था गर्नु उपयुक्त देखिन्छ देखिन्छ । ।
ग) पार्टी केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाहरूको प्रतिनिधित्वलाई सुनिश्चितता गर्नु पर्ने ।
घ) पार्टीका विभागमा मनोनयन गर्दा जसरी सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई प्राथमिकतामा राखिन्छ । त्यसैगरी पार्टी केन्द्रीय सदस्यमा पनि विधागत विज्ञताका आधारमा प्रतिनिधित्व गर्ने गरी निश्चित प्रतिशत छुट्याउने व्यवस्था गर्नुपर्ने ।

ङ) महाधिवेशन प्रतिनिधिका रूपमा हाल जनसंगठनलाई उपलब्ध गराइएको ५ जनाको संख्यालाई बढाएर कम्तीमा १ महिलासहित ७ जना पुऱ्याउनुपर्ने ।
च) पार्टी केन्द्र, प्रदेश तथा स्थानीय सरकारमा रहेका बेला राजनीतिक नियुक्तिहरू गर्दा सरोकारवाला संगठनहरूको सिफारिसलाई नै पार्टीले कार्यान्वयन गर्ने व्यवस्था गरियो भने जनसंगठनप्रतिको आकर्षण र गरिमा बढ्ने हुँदा यसलाई पार्टीले गम्भीर रूपमा लिई राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नु उपयुक्त देखिन्छ ।
७. मिडिया कानुन सम्बन्धमा
प्रेस चौतारी नेपालले मिडिया क्षेत्रको नीति निर्माणमा अगुवाई गर्दै आएको छ । तर, अहिले केन्द्र तथा प्रदेश तहमा निर्माण गरिएका कतिपय मिडिया सम्बन्धी कान्नमा हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ । मिडिया समुदायको नेतृत्व गर्दै आएको यस प्रेस चौतारी नेपाललाई समेत उपेक्षा गरी कानुन निर्माण भइरहेको तितो यथार्थ छ । यसलाई पार्टीले गम्भीर रूपमा लिई सरोकारवाला जनसंगठनको सुझावलाई समेटर कानुन बनाउने गरी पहलकदमी लिइदिन माग गर्दछौं ।
हार्दिक अभिवादनसहित !
गणेश पाण्डे, अध्यक्ष













प्रतिक्रिया दिनुहोस्