जनता टाइम्स

१२ भाद्र २०८२, बिहीबार २०:१७

एमालेबिरुद्धमा प्रयोग गरिरहन रास्वपालाई हामीले बचाउनुपर्ने भयो : प्रचण्ड


बिराटनगर, भदौ १२ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेबिरुद्ध प्रयोग गरिरहन रास्वपालाई आफूहरुको साथ दिएको र बचाउनु पर्ने भएकोे तथ्य खोल्नुभएको छ । माओवादी कोशी प्रदेश सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले यस्तो घोषणा गर्नुभएको हो ।

‘एमालेबिरुद्ध प्रयाग गर्न रास्वपा बचाउनु पर्ने जिम्मेवारी पनि माओवादीले लिनुपर्ने भयो । एमालेको बिरुद्धमा रास्वपालाई साथमै लिएर हिडनुपर्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालको भनाई थियो । उहाँले पटक पटक रास्वपालाई बचाउने जिम्मेवारी माओवादीको काँधमा आएको जिकिर गर्नुभएको थियो ।

बैठकमा प्रदेश पदाधिकारी र सदस्यहरुले रास्वपाप्रति किन सहनुभूति देखाइरहेको भन्दै नेताहरूले प्रचण्डमाथि नै प्रश्न उठाएपछि जवाफमा यस्तो बताउनु भएको हो । एमालेबिरुद्ध प्रयोग गरिरहनका लागि रास्वपा बचाउनु आवश्यक रहेको दाहालको तर्क थियो । केपी ओली र शेरबहादुर देउवा मिलेर गठवन्धन गरेपछि आफूलाई धेरै रिस उठेको भन्दै उहाँले त्यही भएर पनि रास्वपालाई बचाउने जिम्मेवारी लिइएको बताउनु भयो ।‘ओली–देउवा नेतृत्वको गठबन्धन बनेको बेला प्रतिपक्षलाई कमजोर बनाउने खेल भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्नु जरुरी भयो,’ दाहालको भनाई थियो ।

दाहालले एमालेको ठाउँमा उभिँदा जनतालाई लाभ हुँदैन भन्ने सन्देश स्थापित गर्नुपर्ने र यसका लागि रास्वपाको समेत साथ लिएर अगाडि बढ्नुपर्ने रणनीतिअनुसार यसो गरिएको खुलासा पनि गर्नुभयो । उहाँले एमालेविरुद्ध प्रहार केन्द्रित नगरी र जनतामा भ्रम नपारी जित्ने अवस्था नरहेको बस्तुगत अवस्थासमेत औँल्याउनु भएको थियो ।