जनता टाइम्स

१२ भाद्र २०८२, बिहीबार २०:२२

प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने


काठमाडौं, भदाै १२। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

सिंहदरबारमा बिहीबार प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी दिनुभएको हो ।

शनिबार चीन भ्रमणमा प्रस्थान गर्न लाग्नु भएका प्रधानमन्त्री ओलीले सो भ्रमणबारे संसद्लाई जानकारी गराउने कार्यक्रम रहेको छ । उहाँले भ्रमणका एजेण्डा र सम्भावित उपलब्धिबारे प्रतिनिधिसभामा प्रष्ट पार्ने बताइएको छ ।

यसअघि बुधबार बालुवाटारमा पार्टीका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा राष्ट्रिय सहमति जुटाएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिन पिङसँग स्पष्ट रूपमा कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । संसद्को विश्वास र समर्थनसहित संवेदनशील विषयमा छिमेकीहरूसँग संवाद गर्ने उहाँले स्पष्ट पार्नुभएको थियो।