जनता टाइम्स

१३ भाद्र २०८२, शुक्रबार १३:४८

स्थिरता प्रणालीको मात्र होइन, दलहरूको व्यवहार र कार्यशैलीसँग पनि जोडिएको कुरा हो : पृथ्वीसुब्बा गुरुङ


काठमाडौं, भदौ १३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी प्रणालीलाई व्यवस्थित गर्न नसक्दा नेपालमा राजनीतिक अस्थिरता बढेको बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक लोकार्पण समारोहमा बोल्दै मन्त्री गुरुङले पार्टीका नेताहरू यस प्रणालीलाई व्यवस्थापन गर्ने विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो। शीर्ष नेताहरू यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा लाग्नुभएको उहाँले बताउनुभयो ।

मन्त्री गुरुङका अनुसार संविधान संशोधनसमेत यही विषयमा बढी केन्द्रित हुँदै गएको छ। उहाँले संघीयता विरोधी शक्तिहरू समानुपातिक प्रणालीकै माध्यमबाट प्रवेश गरिरहेका नेताहरूको बुझाइ रहेको उल्लेख गर्नुभयो। ‘यस प्रणालीले गर्दा नेपालमा स्थिरता कायम हुन सक्दैन भन्ने भनाइ छ, तर स्थिरताको लागि पूर्ण समानुपातिकतर्फ किन जान सकिँदैन भन्ने प्रश्न पनि उठ्छ,’ उहाँले भन्नुभयो।

गुरुङले स्थिरता निर्वाचन प्रणाली मात्र नभई दलहरूको आचरणसँग पनि सम्बन्धित रहेकोमा जोड दिनुभयो। ‘स्थिरता भनेको प्रणालीको मात्र कुरा होइन, दलहरूको व्यवहार र कार्यशैलीसँग पनि जोडिएको हुन्छ, मिलेर काम गर्ने हो भने स्थिरता हुन्छ,’ उहाँले गुरुङले भन्नुभयो ।

उहाँले समावेशी प्रणाली प्रयोग गर्न जान्दा सबैभन्दा सहज प्रणाली भएको बताउनुभयो । ‘हकहितमा हेर्ने हो भने समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो र सरल प्रणाली हो’, उहाँले भन्नुभयो ।