जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार ०९:३८

प्रधानमन्त्रीलाई बालेनको चीन भ्रमण सफलताको शुभकामना : लिपुलेक हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउनेमा विश्वस्त 


काठमाडौं, भदाै १४। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले पहिलो पटक प्रधानमन्त्रीलाई सकारात्मक कमेन्ट गर्दै चीन भ्रमणको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा प्रस्थान गरे लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई भ्रमण सफलताको कामना गर्नुभएको छ।

बालेनले फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीप्रति विश्वास प्रकट गर्नुभएको छ। स्ट्याटसमा उहाँले लेख्नुभएको छ –
‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला। All the best, हामीलाई तपाईँमाथि पूर्ण विश्वास छ।’

लिपुलेक नाका लामो समयदेखि नेपाल–भारत–चीनबिच विवादको विषय रहँदै आएको छ। भारत र चीनबिच व्यापार सञ्चालन गर्ने सहमति भएपछि नेपालले यसलाई आफ्नो सार्वभौमिक अधिकारमाथिको अतिक्रमणको रूपमा लिँदै आएको छ। यही सन्दर्भ उठाउँदै बालेनले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका क्रममा नेपालको भूभागबारे प्रष्ट सन्देश दिन आग्रह गर्नुभएको हो। प्रधानमन्त्रीले सो विषय बेइजिङ भ्रमणमा उठाउने बताउँदै आउनु भएको छ ।

बालेनले विगतमा प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आलोचना गर्ने खालका टिप्पणी गर्दै आउनुभएको थियो । तर यस पटक भने उहाँले ओलीलाई प्रत्यक्ष समर्थन जनाउँदै ‘हामीलाई तपाईँमाथि पूर्ण विश्वास छ’ भन्ने अभिव्यक्ति दिनु सकारात्मक टिप्पणीको रूपमा लिइएको छ।

प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि शनिबार बिहान प्रस्थान गर्नुभएको हो। उहाँले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्दै लिपुलेक लगायतका विषयमा छलफल उठाउने तयारी गरेको बताइएको छ।