जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार १५:००

प्रधानमन्त्री ओली चीनमा, विमानस्थलमा भव्य स्वागत


काठमाडौँ, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको थियानजिन शहर पुग्नुभएको छ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज दिउँसो स्थानीय समय अनुसार ३:१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चीन सरकारका उच्चाधिकारी, चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली तथा नेपालका लागि चीनका राजदूत चेन सोङलगायतको टोली विमानस्थलमा उपस्थित थियो।

प्रधानमन्त्री ओलीको यो चीन भ्रमणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। एससिओ शिखर सम्मेलनमा सहभागी हुँदै उहाँले चीन र सदस्य राष्ट्रका अन्य शीर्ष नेताहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।