जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार १६:०७

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच थियानजिनमा भेटवार्ता


काठमाडौँ, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको छ। नेपाल–चीन बिचको मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यसहित आयोजित यो भेटवार्ता कूटनीतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको जनाइएको छ।

प्रधानमन्त्री ओली आजै चीनको थियानजिन सहरमा पुग्नुभएको हो। शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन जानुभएका उहाँलाई थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारका उच्च अधिकारीहरू र चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले भव्य र आदरपूर्ण स्वागत गर्नुभएको थियो। यसरी उच्चस्तरीय सम्मान प्रकट गर्नु, नेपाल–चीन सम्बन्धप्रतिको चिनियाँ नेतृत्वको गहिरो मित्रता र सद्भावको स्पष्ट सङ्केतका रूपमा लिइएको छ।

प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताका लागि थियानजिन अतिथि गृहमा जानुभएको हो ।भेटवार्तामा दुवै देशका प्रतिनिधिहरूले नेपाल–चीनको ऐतिहासिक मित्रता, भौतिक पूर्वाधारमा सहकार्य, ऊर्जा क्षेत्रका लगानी, पारवहन, पर्यटन र क्षेत्रीय सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूमा विचार विमर्श गर्नुभएको छ ।

नेपाल–चीन सम्बन्ध हजारौँ वर्षको सांस्कृतिक, धार्मिक र व्यापारिक आदानप्रदानसँग गाँसिएको छ। आधुनिक राजनीतिक सम्बन्ध सन् १९५५ मा दुवै देशबिच सम्बन्ध स्थापनासँगै संस्थागत रूपमा अघि बढेको हो। प्रधानमन्त्री ओलीको नेतृत्वमा सम्पन्न ‘नेपाल–चीन ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता’ र अन्य परियोजनाहरूले नेपालको भौगोलिक र आर्थिक महत्वलाई अझ प्रष्ट बनाएको छ।

प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य उद्देश्य शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुनु हो। सो सम्मेलनमा क्षेत्रीय सुरक्षा, ऊर्जा सहकार्य र व्यापार विस्तारका विषयमा विचार विमर्श हुने तय भएको छ।

चीनले यस वर्ष आफ्नो जापानी साम्राज्यवादमाथिको विजयको ८० औँ वार्षिकोत्सव धूमधामका साथ मनाइरहेको छ। यस सन्दर्भमा प्रधानमन्त्री ओलीको भ्रमणलाई ऐतिहासिक सहकार्य र प्रतिरोधी संघर्षको भावनासँग जोडेर हेरिएको छ। नेपाल–चीन बिचको मित्रता र आपसी आदरले दुवै देशका सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

प्रधानमन्त्री ओलीले यसअघि चीनसँग विशेष सम्बन्ध विस्तार गर्ने नीति अघि सार्नुभएकाे थियाे। विपक्षी दलले चीनसँग बढी नजिकिएको भन्दै आलोचना गरे पनि चीनसँगको सन्तुलित र आदरपूर्ण सम्बन्ध नै नेपाली हितको आधार भएकाे उहाँले स्पष्ट पार्नु भएकाे छ ।

प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भएको यो आदरपूर्वक भेटवार्ता केवल औपचारिक कूटनीतिक बैठक मात्र नभई नेपालको भावी आर्थिक–भौगोलिक दिशालाई निर्धारण गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा पनि बुझिएको छ। विकास, पूर्वाधार र पारवहनका क्षेत्रमा नेपालले चीनसँग व्यावहारिक उपलब्धि लिन सक्ने वा नसक्ने कुरा आगामी केही महिनाभित्र स्पष्ट हुने देखिन्छ।