जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार १७:५२

रुपन्देहीमा उपनिर्वाचनकाे माहाेल : मर्चवारमा पूर्व गाउँपालिका अध्यक्षहरूसहित ठुलो समूह एमालेमा प्रवेश


रुपन्देही । रुपन्देहीको मर्चवार क्षेत्रमा उपनिर्वाचनको माहोल तातिरहेको बेला प्रभावशाली पूर्वअध्यक्षहरुसहित ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ।

समरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवार गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बानिया आफ्नो ठुलो समूहसहित एमालेमा प्रवेश गर्नु भएको हो।  उहाँहरू करिब ३ हजार स्थानीय सहित एमालेमा प्रवेश गर्नुभएको बताइएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार उहाँहरूलाई मर्चावरमा स्वागत गर्नुभयो ।

पूर्वअध्यक्ष शुक्ला २०७४ मा मधेसी जनअधिकार फोरमबाट पालिका अध्यक्ष निर्वाचित भएको थियो । त्यसपछि कांग्रेस, एमाले र ०७९ मा माओवादीमा प्रवेश गरी उम्मेदवारी दिनुभएका उहाँ पराजित हुनुभएको थियो। सोही वर्ष जनमत पार्टीबाट प्रदेश सभा उम्मेदवार बने पनि उहाँ निर्वाचित हुन सक्नु भएन ।  व्यक्तिगत प्रभाव र समर्थकको ठुलो समूहसहित उहाँ अहिले पुनः एमालेमा फर्कनु भएको छ।

त्यसै गरी मर्चवार गाउँपालिकाका पूर्वअध्यक्ष बानिया पनि एमालेमा प्रवेश गर्नु भएको छ। उहाँ ०७४ मा मधेसी जनअधिकार फोरमबाट निर्वाचित हुनुभएको थियो । ०७९ मा उपेन्द्र यादव समूहबाट चुनाव लडे पनि उहाँ पराजित हुनुभएको थियो।

मर्चवार क्षेत्रमा उहाँहरूको प्रवेशले एमालेको दक्षिणी क्षेत्रको संगठनलाई बलियो बनाएको बताइन्छ ।