जनता टाइम्स

२ मंसिर २०७६, सोमबार १९:२६

मन्त्रीहरुमाथि माधव नेपालको गम्भीर आरोप


कर्मचारीसँग घुस लिएर सरुवा, बढुवा गर्ने काम मन्त्रीहरुले गरिरहेको ठोकुवा

काठमाडौं, मंसिर २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टीका मन्त्रीहरुमाथि गम्भीर आरोप लगाउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नपालले मन्त्रीहरु घुसमा रमाएको ठोकुवा गर्नुभएको हो ।

नेता नेपालका अनुसार कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेका छन । कर्मचारी सरुवा बढुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नेपाल निकट नेता लालबाबुपण्डित नै मन्त्री हुनुहुन्छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवका एक मन्त्री र एक राज्यमन्त्रीबाहेक सवै नेकपाकै नेताहरु मन्त्री हुनुहुन्छ ।

आफ्नै पार्टीको सरकार र मन्त्री रहेको बेला नेता नेपालले आज आयोजित एक कार्यक्रममा यस्तो ठोकुवा गर्नुभएको हो । नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको उहाँको निश्कर्ष छ । ‘कर्मचारीको नियुक्तीमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ,’ नेता नेपालले भन्नुभयो । उहाँले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्चाउने काम भइरहेको ठोकुवासमेत गर्नुभयो ।

‘यसरी लुट मच्चाउनेहरुमाथि सरकारले कडा कारवाही गर्नुपर्छ,’ नेपालको भनाई थियो । स्थानीय तहमा कर्मचारीसँग मिलेर लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कारवाही गर्नुपर्ने नेता नेपालको भनाई थियो । लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्ने आफ्नो निश्कर्ष पनि उहाँले सुनाउनु भयो ।