जनता टाइम्स

१५ भाद्र २०८२, आईतवार ०९:२४

प्रधानमन्त्री ओलीद्वारा चीनको सिआओझान धान उत्पादन विशेष क्षेत्रको अवलोकन


काठमाडौं, भदौ १५ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन गर्नुभएको छ।

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीन पुग्नुभएका प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रविधिबाट धान उत्पादन भइरहेको विशेष क्षेत्रको अवलोकन गर्दै त्यहाँको प्रविधि, अनुसन्धान र व्यवस्थापनका बारेमा जानकारी लिनु भएको हो।

प्रधानमन्त्री ओलीले धान उत्पादन वृद्धिमा चीनले अपनाएको वैज्ञानिक प्रविधि, किसानलाई गरिएको सरकारी सहयोग र उत्पादन प्रणालीबारे चासो देखाउनुभएको बताइएको छ। उहाँले नेपालमा पनि कृषि उत्पादन आत्मनिर्भर बनाउन यस्ता अनुभव आत्मसात् गर्नुपर्नेमा जोड दिनु भएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा उच्चस्तरीय सम्मेलन, द्विपक्षीय भेटवार्ता र विभिन्न सहकार्यका विषयमा छलफल हुने कार्यक्रम रहेको छ। चीनको कृषि प्रविधि अध्ययन भ्रमणलाई नेपाल–चीन सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।

यसअघि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकलगायत नेपालको राष्ट्रिय सरोकारका विषय प्रष्ट रूपमा उठाइसक्नुभएको छ। उहाँको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई व्यवहारिक सहकार्य र आपसी हितका क्षेत्रमा परिणाममुखी बनाउन सक्ने अपेक्षा गरिएको छ।