जनता टाइम्स

१५ भाद्र २०८२, आईतवार १०:३०

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको ‘चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालय’को अवलोकन 


काठमाडौं, भदौ १५ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनको थियानजिनस्थित ‘चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालय’को अवलोकन गर्नुभएको छ ।

चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्छ भने उहाँकी जीवनसाथी तेङ यिङ्चाओ चीनको क्रान्तिकारी आन्दोलनकी अग्रणी नेतृ हुनुहुन्थ्याे । संग्रहालयमा चीनको आधुनिक राजनीतिक इतिहासमा उहाँहरूको योगदान, क्रान्तिकारी आन्दोलनमा देखाएको साहस र नेतृत्व, र नयाँ चीन निर्माणमा निर्वाह गरेको भूमिकासम्बन्धी विविध सामग्री प्रदर्शित गरिएको छ ।

प्रधानमन्त्री ओलीले संग्रहालय अवलोकनका क्रममा चाउ इन्लाई र तेङ यिङ्चाओप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले चीनको क्रान्ति र विकास यात्रामा उहाँहरुले पुर्‍याएको भूमिकाले नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओली हाल चीनको तियानजिन सहरमा रहनु भएको छ । उहाँले यसअघि राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता गर्नु भएकाे थियाे ।