जनता टाइम्स

१६ भाद्र २०८२, सोमबार १७:१३

परिणामका लागि कठोर बने कोशीका मुख्यमन्त्री कार्की, सात दिनभित्र फाइल टुङ्गो लगाउन निर्देशन


विराटनगर, भदाै १६ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुगेका फाइलहरू सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिनुभएको छ।

कोसी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अबदेखि मन्त्रालयमा पुगेका राय–परामर्श र अन्य सबै खालका फाइलहरू निर्धारित समयभित्र टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘सात दिनभित्र फाइल किनारा लगाउन नसक्ने भए त्यसको कारणसहित सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।’

मुख्यमन्त्री कार्कीले मन्त्रालयहरूमा फाइल अड्किने प्रवृत्तिलाई उचित नभएको औँल्याउँदै भन्नुभयो, ‘हामी कहाँ धेरै फाइल पनि हुँदैन, तर अड्काउने प्रवृत्ति राम्रो होइन, यसमा सुधार होस् ।’

उहाँको निर्देशनले सरकारी कामकाजलाई समयमै टुङ्गो लगाउने र प्रशासनिक कार्यक्षमता बढाउने प्रयासको सङ्केत भएको विज्ञहरूले बताएका छन्।