जनता टाइम्स

३ मंसिर २०७६, मंगलवार ०९:२६

प्रचण्डपुत्र प्रकाशको दोस्रो स्मृति दिवस आज, खुमल्टारमा स्मृति सभा आयोजना


काठमाडौं, कात्तिक ३ । तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको मंगलवार दुई वर्ष पुगेको छ ।

युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला उनको निधन भएको थियो । दाहालको स्मृतिमा आज प्रचण्ड निवास खुमल्टारमा स्मृति सभा आयोजना गरिएको छ । अध्यक्ष प्रचण्डको निजि निवास खुमलटारमा दीप प्रज्वलन गर्दैछ। दोस्रो स्मृति कार्यक्रम आन्तरिक रुपमा घरमा नै गर्न लागिएको  स्रोतले जानकारी दिएको छ।

प्रकाशको संक्षीप्त परिचय

वि.सं २०३८ असार १७ गते बुवा पुष्पकमल दाहाल र आमा सीता दाहालको कोखबाट चितवनको भीमसेननगरमा उनको जन्म भएको थियो । पत्नी सृजना त्रिपाठीसँग वैवाहिक सम्बन्धमा रहँदै उनले विना मगरसँग विवाह गरेका थिए । दुबै पत्नीका तर्फबाट उनका दुई छोरा छन्, प्रसिद्ध र प्रणव । प्रकाशले २०६९ जेठ ९ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । २०५७ मा तत्कालिन नेकपा माओवादीका पूर्णकालीन कार्यकर्ता बनेका प्रकाशले बुवा प्रचण्डको सचिवालय, अंगरक्षक तथा व्यवस्थापन सम्हाले ।

१२ बुँदे सम्झौता, शान्ति सम्झौता लगायतका राजनीतिक परिवर्तनमा उनको महत्वपूर्ण योगदान रह्यो । सूचना प्रविधिमा विशेष दखल राखेको प्रकाशलाई मिडियामैत्री व्यक्तित्वका रुपमा चिनिन्थ्यो । अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन र सुरक्षामा विशेष योगदान दिएका उनले प्रचण्डको दोस्रो प्रधानमन्त्रीकाललाई व्यवस्थित बनाउन कुनै कसर बाँकी राखेका थिएनन् ।