काठमाडौं, भदौ १७ । नेकपा (एमाले) की उपाध्यक्ष तथा वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले महिलाहरूलाई इच्छा हुँदाहुँदै पनि विभिन्न कारणले राजनीतिबाट पछि हट्नुपर्ने अवस्था अझै कायम रहेको बताउनुभएको छ।
अखिल नेपाल महिला संघले मङ्गलबार प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै नेतृ शाक्यले विवाह, मातृत्व र पारिवारिक झमेलाका कारण धेरै महिलाले राजनीति छोड्नुपर्ने बाध्यता रहेको धारणा राख्नुभयो। ‘महिलाहरू निरन्तर लागिरहँदा विवाह नगरुन्जेल सक्रिय रहन्छन्, विवाहपछि थप समस्या, बच्चा भएपछि अझै ठूलो समस्या, पारिवारिक झमेलाले महिलाहरू राजनीतिबाट विमुख हुनुपर्ने अस्वथा छ,’ शाक्यले भन्नुभयो, ‘मन हुँदाहुँदै पनि पछि हट्नुपर्ने स्थिति हिजो पनि थियो, आज पनि त्यही छ।’
नेतृ शाक्यले महिलाहरूले पुरुषलाई नेतृत्वमा स्थापित गर्न, प्रधानमन्त्रीसम्म बनाउन ठूलो त्याग गरेको स्मरण गर्दै त्यसको सम्मान हुनुपर्नेमा जोड दिनुभयो। ‘राजनीतिमा सफल हुन सिंगो परिवारको योगदान जरुरी हुन्छ’, उहाँले भन्नुभयाे ।
शाक्यले महिलाहरूको संघर्षकै कारण नेपाल आज खुला राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताउनुभयो। ‘राणा शासनविरुद्ध आवाज उठाउँदै मताधिकार, शिक्षाको हक, लोकतन्त्र वा प्रजातन्त्रको लागि महिलाले गरेको निरन्तर संघर्ष र आटकै कारण आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ, अब नेपालमा निरङकुशता छैन, हामी समाजवादतर्फ अगाडि बढिरहेका छौँ’, उहाँले भन्नुभयो ।
उहाँले प्रेरणादायी अग्रज महिलाकाे खेजी र सम्मान गर्ने पर्नेमा जाेडदिनुभयाे । उहाँहरुका अनुभवबाट सिक्नु पर्ने शाक्यले बताउनुभयाे । ‘अहिले महिला आन्दाेलन शिथिल भएजस्ताे लाग्छ, शिथिल बन्नु हुँदैन एजेण्डा साझा बन्नु पर्छ’, उहाँले भन्नुभयाे ।
कार्यक्रममा बोल्दै नेतृ शशी श्रेष्ठले महिलाहरू एकतावद्ध भएर लागेकै कारण संविधान प्राप्त भएको बताउनुभयो। ‘हामी सँधै साझा मुद्दामा एकतावद्ध भएर लागेका कारण आज यो संविधान पाएका हौँ, अझै पनि महिलाको हक र अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले इतिहास नबिर्सनुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा नेपाली महिलाले पहिलो पटक मताधिकार प्रयोग गरेको दिन स्मरण गर्दै प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको नाममा लेखिएको ‘साधना’ नामक पुस्तक विमोचन गरिएको थियो।













प्रतिक्रिया दिनुहोस्