जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार ०८:५६

८० औं विजय दिवसमा चीनको भव्य समारोह, टियानआनमेन स्क्वायरमा सैन्य परेड र स्मृति मञ्च उद्घाटन


काठमाडौं, भदाै १८। जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध र विश्व फासिवाद विरोधी युद्ध विजयको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले राजधानी बेइजिङस्थित टियानआनमेन स्क्वायरमा बुधबार बिहान भव्य समारोह आयोजना गरेको छ।

स्थानीय समय अनुसार बिहान ९ बजे सुरु भएको कार्यक्रममा विशाल सैन्य परेड प्रस्तुत गरिएको छ। स्क्वायरमा उभिएको जननायकहरूको स्मारकलाई विशेष सजावट गरिएको थियो भने त्यसकै छेउमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ। सो मञ्चमा सन् १९४५ र २०२५ को प्रतीकस्वरूप १४ वटा दीपस्तम्भ राखिएका छन्।

दीपस्तम्भमाथि शान्तिको प्रतीक स्वरूप १४ परेवा उडाइएको दृश्य अत्यन्तै भावुक र ऐतिहासिक मानिएको छ। यसलाई १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नो रगतबाट बनाएको रुपक ‘महान भित्ताकोट’को प्रतीकका रूपमा व्याख्या गरिएको छ।

समारोहलाई चीनका राष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्ने र सैनिक निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ। सी चिनफिङको सम्बोधनमार्फत चीनले फासिवाद विरोधी संघर्षमा दिएको बलिदान र आजको विश्व शान्तिको आवश्यकता जोडिने अनुमान गरिएको छ।

इतिहासअनुसार, जापानविरुद्ध लड्ने पहिलो राष्ट्र चीन नै हो। १४ वर्ष लामो युद्ध अवधिमा चिनियाँ जनताले ३ करोड ५० लाखभन्दा बढी जनधन गुमाएका थिए। तर अपार राष्ट्रिय बलिदानमार्फत चीनले विश्व फासिवाद विरोधी युद्धको पूर्वी मोर्चामा निर्णायक योगदान दिएको मानिन्छ।

सन् १९४५ सेप्टेम्बर २ मा जापानले आत्मसमर्पणपत्रमा हस्ताक्षर गर्दै चीनसहित सहयोगी राष्ट्रहरूसमक्ष हार स्वीकार गरेको थियो। त्यसको भोलिपल्ट, सेप्टेम्बर ३ मा चीनले विजय दिवस मनाउन सुरु गर्‍यो। सन् २०१४ मा चीन सरकारले कानुन बनाएर सेप्टेम्बर ३ लाई ‘प्रतिरोध युद्ध विजय दिवस’को रूपमा आधिकारिक मान्यता दिएको छ।

यस वर्षको ८० औँ विजय दिवसलाई चीनले विशेष ऐतिहासिक मोडको रूपमा प्रस्तुत गर्दै विश्व शान्ति, राष्ट्रिय एकता र फासिवाद विरोधी संघर्षको स्मरण गर्ने दिनका रूपमा मनाइरहेको छ। कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायत विश्वका विभिन्न राष्ट्रका नेता सहभागि हुनुहुन्छ ।