जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार १६:१६

एमाले केन्द्रीय सचिवालय बैठक सुरु : विधान महाधिवेशनका प्रतिवेदनलाई अन्तिम रूप दिइने 


काठमाडौं, भदौ १९ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको छ । भोलिदेखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूलाई अन्तिम रूप दिन बैठक बसेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने संगठनात्मक प्रतिवेदन माथि छलफल हुने छ। ती प्रतिवेदनका प्रस्तुतकर्ताले आज व्याख्या गर्ने र सचिवालयले पारित गरेको प्रतिवेदन भोलि विधान महाधिवेशनमा पेश गरिने कार्यक्रम रहेकाे छ ।

यसबाहेक विधान महाधिवेशनका तयारी, व्यवस्थापन तथा उपसमितिहरूले गरेका कामको ब्रिफिङ गर्ने एजेन्डा पनि बैठकमा रहेको छ ।

यसैबिच, पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर सीमा र २ वर्षे कार्यकालसम्बन्धी प्रावधान हटाउने निर्णयमा असहमति जनाउँदै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले राखेको फरक मतबारे पनि आज टुंगो लगाइने नेताहरूले बताएका छन् ।