जनता टाइम्स

२० भाद्र २०८२, शुक्रबार १३:५६

भ्रमको अन्त्य गरिसक्यौँ,  देशले लय समाएको छ :  केपी ओली


काठमाडौं, भदौ २० । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको लागि पार्टी एक भएर अघि बढ्नु पर्ने बताउनुभएको छ ।

शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनको ललितपुरमा उद्घाटन गर्दै उहाँले अहिले देशको अवस्था निक्कै अघि बढिसकेको बताउनुभयो । ‘कांग्रेस र एमालेका अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन भन्ने भ्रम केही जादुमयी दलमा थियो, हामीले त्यो भ्रम १४ महिना अगाडि तोड्यौँ, अहिले नेपाल त्यो अवस्थाबाट धेरै अगाडि बढेको छ, देशले लय समाएको छ’, उहाँले भन्नुभयो ।

उद्घाटन सत्रमा अध्यक्ष ओलीले पार्टीको एकता, नेतृत्व संरचना सुदृढीकरण र आगामी राजनीतिक रणनीतिमा केन्द्रित भएर अघि बढ्नुपर्ने विषयमा जोड दिनुभयो। उहाँले वर्तमान सरकार र पार्टी नेतृत्वमा रहेको अनुभवलाई देशको विकास र जनप्रतिनिधित्वमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

तीन दिनसम्म चल्ने महाधिवेशनमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय समिति सदस्य, प्रदेश र जिल्ला प्रतिनिधिहरू सहभागी छन्। महाधिवेशनको मुख्य उद्देश्य पार्टीको विधान संशोधन, नीति र कार्यक्रम तय गर्नु र संगठनात्मक एकता मजबुत बनाउनु रहेको छ।

अध्यक्ष ओलीले पार्टीभित्रका भित्री विवाद समाधान गर्दै आगामी चुनावमा एमालेको भूमिका सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । महाधिवेशनले भोट र सत्ता सम्बन्धी रणनीति मात्र तय नगरी, देशको राजनीतिक स्थिरता र विकासमा पनि निर्णायक भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विशेषज्ञहरूले महाधिवेशनलाई एमालेको भविष्यको दिशा तय गर्ने अवसर र पार्टीको संगठनात्मक क्षमता देखाउने ठुलो मञ्चको रूपमा मूल्याङ्कन गरेका छन्। आगामी विधान संशोधन, नेतृत्व चयन र नीति निर्धारणले पार्टीभित्र एकता र रणनीतिक स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।