काठमाडौं, भदाै २०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार विधान महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमार्फत पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य पुरा गर्न २६ वटा रणनीतिक योजना अघि सारेको छ ।
प्रतिवेदनमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र सुदृढ लोकतन्त्रलाई मूल आधार मानेर कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा र सुशासनजस्ता क्षेत्रमा रूपान्तरणकारी नीति अवलम्बन गर्ने एमालेको दृष्टिकोण प्रस्तुत गरिएको छ ।
एमालेले आधुनिक कृषि प्रणालीमार्फत सम्पन्न किसान तयार गर्ने, सहकारीको माध्यमबाट नागरिकलाई आर्थिक रूपमा सबल बनाउने र राष्ट्रिय स्रोत साधनको अधिकतम उपयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै, खनिज पदार्थहरूको खोज, उत्खनन र प्रशोधनमार्फत औद्योगीकरणको गति बढाउने, पर्यटन तथा संस्कृति विकासमार्फत राष्ट्रको समुन्नति गर्ने र विद्युत् तथा ऊर्जा विकासलाई समृद्धिको आधार बनाउने उल्लेख छ ।
स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा र पूर्वाधार, मर्यादित श्रम तथा सुरक्षित रोजगारी, जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र निरोगी नेपाल निर्माण एमालेका अन्य प्राथमिकतामा परेका छन् । साथै, युवा वर्गलाई नवप्रवर्तन, अनुसन्धान, खेलकुद र सेवामुखी क्षेत्रतर्फ आकर्षित गर्ने तथा लैङ्गिक समानता र समावेशितालाई संस्थागत गर्ने पार्टीको योजनामा समावेश छ ।
प्रतिवेदनअनुसार सुरक्षित आवास, यातायात पूर्वाधार, हवाई सेवा र जलमार्गलाई गतिशील अर्थतन्त्रका लागि आधार बनाइनेछ । समावेशी विकास, वर्गीय शोषण, जातीय विभेद र छुवाछुतको अन्त्यको प्रत्याभूति गर्ने र मौलिक राष्ट्रिय संस्कृति संरक्षण गर्ने नीतिहरू पनि एमालेले अघि सारेको छ ।
एमालेले भ्रष्टाचार, ढिलासुस्ती र कमजोर शासन अन्त्य गर्दै उपभोक्ता हितको रक्षा गर्ने, स्वतन्त्र र जिम्मेवार प्रेसलाई सुदृढ बनाउने तथा एकीकृत नेपाल सरकारसँगै अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउने योजना पनि प्रतिवेदनमा समेटिएको छ ।
राष्ट्रिय हित, स्वाभिमानको रक्षा र स्वतन्त्र परराष्ट्र नीति अवलम्बनसहित सन्तुलित बाह्य सम्बन्ध कायम गर्ने प्रतिबद्धता एमालेले राजनीतिक प्रतिवेदनमार्फत व्यक्त गरेको छ ।














प्रतिक्रिया दिनुहोस्