काठमाडौं, भदौ २० । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा शुक्रबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमार्फत ‘नेपाली विशेषताको समाजवाद’ को आधारभूत रूपरेखा सार्वजनिक गर्नुभएको छ ।
उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा समाजवादलाई न त सोभियत मोडेलको अन्धानुकरण, न त असफल सर्वहारा अधिनायकत्वका रूपमा, बरु नेपाली समाजको मौलिक विशेषता, बहुलता र विविधतालाई आत्मसात् गर्ने लोककल्याणकारी, खुला र न्यायपूर्ण व्यवस्थाका रूपमा परिभाषित गरिएको छ ।
प्रतिवेदनअनुसार, समाजवाद नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक विशेषताबाट उदाएका मूल्यहरूको स्वाभाविक परिणति हो । यो आकस्मिक वा बाह्य रूपमा आयातित व्यवस्था होइन । एमालेले अघि सारेको समाजवादमा मानिस–मानिसबिचको विभेद अन्त्य गर्ने, असमानताको संरचनात्मक समाधान गर्ने र जनतालाई गरिबी, शोषण र विभेदबाट मुक्त गर्ने प्रणालीका रूपमा चित्रण गरिएको छ ।
समाजवादको स्वरूप
नेपाली विशेषताको समाजवाद लोककल्याणकारी चरित्रको हुने स्पष्ट पारिएकाे छ । जसमा आर्थिक–सामाजिक न्याय, समानता, पारदर्शिता र प्रतिस्पर्धात्मक नीतिहरू आत्मसात् गरिनेछन् । उत्पादनका साधनहरूमा जनताको पहुँच सुनिश्चित गर्दै, अत्यधिक केन्द्रीकरणलाई नियन्त्रण गर्ने र सम्पत्ति तथा अवसरहरूको न्यायपूर्ण वितरण गर्ने व्यवस्था निर्माण गरिनेछ ।
राज्यप्रति जनता र जनताप्रति राज्य दुवैको उत्तरदायित्वलाई नैसर्गिक रूपमा सुनिश्चित गरिने प्रतिवेदनमा उल्लेख छ । काम गर्ने उमेरका सबैलाई रोजगारको प्रत्याभूति, परिश्रमको उचित प्रतिफल, तथा श्रम गर्न नसक्ने वा जीविकोपार्जन गर्न असमर्थहरूको संरक्षणलाई राज्यको अनिवार्य जिम्मेवारी बनाइनेछ ।
आर्थिक रूपान्तरण र उत्पादन
‘नेपाली विशेषताको समाजवाद’ अन्तर्गत उत्पादक शक्तिको विकास, नवप्रवर्तन, अनुसन्धान, प्रविधि आत्मसात् र सहकारी प्रणालीको सही प्रयोगलाई प्राथमिकता दिइनेछ । श्रमजीवी वर्गलाई न्याय र सुखद जीवनको प्रत्याभूति, प्रचुर उत्पादन र न्यायसङ्गत वितरण समाजवादी अर्थनीतिको मूल आधार हुने उल्लेख छ ।
त्यस्तै, निजी क्षेत्र, सहकारी र सामूहिक क्षेत्र बिचको समन्वयमार्फत राष्ट्रिय समृद्धि हासिल गरिने र वातावरणीय संरक्षणलाई राज्यको मूल दायित्वका रूपमा लिइने छ ।
विविधता र समावेशिता
एमालेको प्रतिवेदनमा समाजवाद एकरूपतामा होइन, विविधतामा आधारित एकताको पक्षधर रहेको स्पष्ट गरिएको छ । नेपालको बहुलता र सांस्कृतिक विविधतालाई स्वीकार गर्दै त्यसलाई सामञ्जस्यपूर्वक अगाडि बढाउने उल्लेख छ ।
राज्य र पार्टीको भूमिका :
प्रतिवेदनले समाजवाद निर्माणमा कम्युनिष्ट पार्टीको निरन्तर नेतृत्वलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । तर, पार्टी सत्ता सञ्चालनमा संलग्न भइरहँदा उत्पन्न हुन सक्ने भ्रष्टाचार र नोकरशाहीकरणबाट बचाउन निरन्तर शुद्धीकरण आवश्यक हुने चेतावनीसमेत दिइएको उल्लेख गरिएकाे छ ।
त्यसका साथै, समाजवादलाई ‘नेपालीपन’, गौरवपूर्ण इतिहास, जीवन्त संस्कृति र राष्ट्रिय पहिचानसँग जोडेर विकास गर्ने कुरा प्रतिवेदनमा उल्लेख छ । यसले समाजवादलाई कुनै पराई वा कृत्रिम अवधारणा नभई, हजारौँ वर्षको ऐतिहासिक विकास प्रक्रियाको स्वाभाविक उत्तराधिकारीका रूपमा चित्रण गरेको छ ।
राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय सम्बन्ध
राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा समाजवादको अनिवार्य कार्यभार हुने एमालेको भनाइ छ । स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धलाई अवलम्बन गर्दै नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा मजबुत बनाउने प्रतिवेदनमा उल्लेख छ ।
यसरी, एमालेले प्रस्तुत गरेको ‘नेपाली विशेषताको समाजवाद’ को अवधारणा आर्थिक रूपान्तरण, सामाजिक न्याय, विविधतामा आधारित एकता, सांस्कृतिक निरन्तरता र राष्ट्रिय स्वाभिमानका आधारमा निर्मित एक मौलिक राजनीतिक–आर्थिक प्रणालीको खाकाकाे रुपमा आएकाे छ ।













प्रतिक्रिया दिनुहोस्