जनता टाइम्स

२० भाद्र २०८२, शुक्रबार १७:५९

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो


काठमाडौं, भदौ २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पछिल्लो संगठनात्मक प्रतिवेदनअनुसार पार्टीका संगठित सदस्य सङ्ख्या ६ लाख ६६ हजार २ सय ५१ पुगेको छ । महासचिव शंकर पोखरेलले शुक्रबार प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदनमा १० औँ महाधिवेशनपछि यो सङ्ख्यामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार प्रदेशगत हिसाबमा सबैभन्दा बढी सदस्य मधेस प्रदेशमा रहेका छन् । जहाँ १ लाख ५६ हजार ४१ जना सदस्य छन् ।

कोसी प्रदेशमा १ लाख १४ हजार ७ सय १०, वाग्मती प्रदेशमा १ लाख १६ हजार ४ सय ९९, गण्डकी प्रदेशमा ५५ हजार ५ सय १२, लुम्बिनी प्रदेशमा ८० हजार ३ सय ५२, कर्णाली प्रदेशमा ४७ हजार ६ सय ४७ र सुदूरपश्चिम प्रदेशमा ४३ हजार १ सय १० जना सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै उपत्यका विशेषमा १२ हजार ७१, सम्पर्क समन्वयमा १३ हजार ७ सय ५२, भारत प्रवासमा १ हजार ७ सय ५२, अन्य प्रवासमा ४ हजार ६ सय २० र केन्द्रिय कार्यालयमा ८ सय ५० जना सदस्य रहेको विवरण प्रस्तुत गरिएको छ ।

महासचिव पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार पार्टी अहिले ६४ हजार ७ सय ६ कमिटीमार्फत सञ्चालन भइरहेका छन् । यसमध्ये १ सय ३ जिल्ला कमिटी, १ हजार ६७ पालिका कमिटी, ७ हजार ७ सय ६० वडा कमिटी र ५५ हजार ७ सय ७६ टोल कमिटी रहेका छन् । प्रतिवेदनले विभिन्न तहका संगठनात्मक संरचनामा ४ लाख २७ हजार १६ जना कार्यकर्ता आबद्ध रहेको तथ्याङ्क प्रस्तुत गरेको छ । जिल्ला तहमा ९ हजार ७ सय ७४, पालिका तहमा ४१ हजार ६ सय ३३, वडा तहमा १ लाख ७४ हजार २ सय ४५ र टोल तहमा २ लाख १ हजार ३ सय ६४ जना कार्यकर्ता सक्रिय रहेको विवरण छ ।

प्रदेशगत कमिटी गठन हेर्ने हो भने कोसी प्रदेशमा १४ जिल्ला, १ सय ३६ पालिका, १ हजार १ सय ५७ वडा र ७ हजार १ सय १ टोलसहित कुल ८ हजार ४ सय ८ कमिटी छन् ।

मधेस प्रदेशमा ८ जिल्ला, १ सय ३६ पालिका, १ हजार २ सय ७१ वडा र ६ हजार ५ सय १५ टोलसहित ७ हजार ९ सय ३० कमिटी रहेको छ ।

वाग्मती प्रदेशमा १३ जिल्ला, १ सय ११ पालिका, १ हजार १ सय २१ वडा र १४ हजार २ सय ६ टोलसहित १५ हजार ४ सय ५१ कमिटी छन् ।

गण्डकी प्रदेशमा ११ जिल्ला, ८५ पालिका, ७ सय ५९ वडा र ५ हजार ५ सय ६० टोल गरी ६ हजार ४ सय १५ कमिटी बनेका छन् ।

लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा र ९ हजार २ सय ६७ टोलसहित १० हजार ३ सय ७१ कमिटी रहेका छन् ।

कर्णाली प्रदेशमा १० जिल्ला, ७९ पालिका, ७ सय १८ वडा र ६ हजार ४ सय ५३ टोलसहित ७ हजार २ सय ६० कमिटी छन् भने सुदूरपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा र ५ हजार ८ सय ५० टोलसहित ६ हजार ६ सय ८१ कमिटी रहेका छन् ।

यस्तै विशेष संरचनामार्फत पनि पार्टीले संगठन विस्तार गरेको छ । सम्पर्क समन्वयमा ८ सय २४ कमिटी, प्रवासी नेपाली मञ्चमा १ सय ११ कमिटी र भारत शाखामा ५ सय ६७ कमिटी रहेको विवरण प्रतिवेदनमा समावेश छ ।

महासचिव पोखरेलले प्रतिवेदन पेश गर्दै अझै करिब डेढ लाख सदस्य संगठित हुन बाँकी रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार समग्रमा करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य एमालेसँग आबद्ध छन् ।