ललितपुर, भदौ २१। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सम्पन्न भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि सुरु भएको दोस्रो महाधिवेशनमा हिजाे र आज बिहान प्रस्तुत गरिएका सात वटा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएसँगै बन्दसत्रकाे दाेस्राे दिनकाे कार्यक्रम सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले छुट्टा-छुट्टै छलफल गरेका थिए ।
त्यस्तै, उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति, प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि, केन्द्रीय कार्यालय र विभागीय संरचनाका सहभागीहरूले पनि प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न गरेका थिए ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार आइतबार बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा आज प्रतिवेदनमाथि छलफल गरेका समूहका टोली नेताहरूले आ–आफ्नो समूहका तर्फबाट भाेलि सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । ‘त्यसरी आएका सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुहुने भाेलीकाे कार्यसूची रहेको छ’, उहाँले भन्नुभयाे ।

महाधिवेशन भोलि नै समसामयिक प्रस्ताव पारित गर्दै औपचारिक रूपमा सम्पन्न हुने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।
महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकारकाे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले पनि आफ्ना–आफ्ना निकायका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
स्थायी कमिटी सदस्य कर्ण थापाले लिखित रुपमा पेस गर्नुभएको फरक मतसम्बन्धी प्रस्तावमाथि पनि समूहगत छलफल भएको थियो ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित हिजोदेखि सुरु भएको महाधिवेशनमा देशभरिबाट २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा थप ३ सय १५ जना सहभागी गरी जम्मा २ हजार ३ सय ४१ जनाको सहभागिता रहेको छ ।













प्रतिक्रिया दिनुहोस्