काठमाडौं, भदौ २१ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम गरिएको बत्ताउनुभयो । तेस्रो पटक मिर्गौला प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएको उहाँले उल्लेख गर्नुभयो । अब मिर्गौला प्रत्यारोपणका निम्ति नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उहाँले बताउनुभयो ।
यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं सांसद लक्ष्मणकिशोर चौधरीमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उहाँलाई शनिबार ‘डिस्चार्ज’ गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो । “सामान्यतया मिर्गौला प्रत्यारोपण एक पटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ । तर, इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर, तेस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ,” उहाँले भन्नुभयो।
उहाँले अगाडि भन्नुभयो, “प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।”
चौधरीमा पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनउमा गरिएको थियो । ०७२ सालमा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो ।
चौधरीमा तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उहाँले जानकारी दिनुभयो । नेपालमा एकै व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सन् २०१० मा गरिएको थियो ।
तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्र स्थापनाको १३ वर्षमा एक हजार ५ सय २ जनामा सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिएको केन्द्रले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्